पर्यटन प्रवर्धनमा जोड दिन्छुः रेबान अध्यक्ष बराल

रासस, कास्की
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष बरालले कोभिड- १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘असहज परिस्थितिमा प्राप्त जिम्मेवारीलाई अवसरका रुपमा बदलेर यस क्षेत्रको विकास प्रवद्र्धनमा सबै अनुभवी व्यवसायी साथीहरुको साथबाट नयाँ सोचको खोजीका साथ हाम्रो टिम अघि बढ्ने छ,’ बरालले भने ।
अधिवेशनले प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ र सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ ।
सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् ।
लेकसाइडमा करीब चार सय रेष्टुरेन्ट एण्ड बार रहे पनि रेबानमा एक सय सदस्य छन् ।
यस वर्ष २० जनाले नवीकरण नगरेको जनाइएको छ ।
महासचिव विकासका अनुसार रेबान पोखराले अङ्ग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव, विश्व पर्यटन दिवस, होली महोत्सव, नेपाली खाना महोत्सवलगायत पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।
यस अलावा सदस्य र रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई विभिन्न तालीम प्रदान गर्दै आएको छ ।
सो कार्यक्रमको उद्घाटनसत्रमा रेबान पोखराले पत्रकार विनोद लामिछानेलाई ‘रेबान पत्रकारिता पुरस्कार २०७७’ बाट रु २५ हजारसहित पुरस्कृत गरेको थियो ।
लामिछानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गरे ।
तपाईको प्रतिक्रिया