शंकाको घेरामा एन्फा एकेडेमी

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १:३६

सम्पादकीय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भेंडाबारीमा बहुउद्देश्यीय ट्रेनिङ सेन्टर बनाउने योजना अगाडि सारेको छ ।

यसका लागि धेरैजसो सार्वजनिक र केही निजी जग्गा उपलब्ध गराउन गाउँपालिका पनि तयार भएको छ ।

Advertisement

अब छिटै नै निर्माणको काम सुरु हुने भनेर स्थानीय पनि उत्साही छन् । तर निर्माणको काम सुरु गर्नुभन्दा अगाडिका धेरै प्रक्रिया पूरा हुनै बाँकी छन् ।

आफै विवादको घेरामा परेको एन्फाले यो प्रस्तावलाई अझै औपचारिक रुपमा फिफामा पु-याएकै छैन । जबकि यो महात्वाकांक्षी योजनामा फिफाले नै लगानी गर्ने हो ।

Advertisement

माछापुच्छ्रेमा यति महत्वको योजना बन्नु निकै गौरवको विषय हो । तर पुग्नुपर्ने जति प्रक्रिया नपुग्दै धेरै हल्लीखल्ली गर्नु पनि राम्रो होइन ।

एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा रहेकै बेला ७ प्रदेशमा १४ वटा तालिम केन्द्र बनाउने प्रतिबद्धता जनाएका थिए ।

त्यही प्रतिबद्धता अनुसार यो केन्द्र बन्न लागेको हो । खेलकुद मन्त्रीको निर्वाचन क्षेत्र भएकाले पनि यो योजना त्यहाँ परेको हुनसक्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने प्रारम्भिक योनना छ । सेन्टरमा मैदान, होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने भनिएको छ ।

फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गर्ने निधो पनि भइसकेको एन्फाकै पदाधिकारीले बताएका छन् ।

मर्दी र इदी खोलाको बीचमा रहेको उक्त ठाउँमा कटानको निकै जोखिम छ । कटानबाट जोगाउनका लागि एन्फा अध्यक्ष शेर्पाले प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

त्यही आग्रह अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली स्थलगत अनुगमनमा पनि गएको छ ।

तटबन्धको जिम्मा प्रदेश सरकारले लिएर भेंडाबारीमा जसरी भए पनि एन्फा एकेडेमी चलाएर छाड्ने प्रतिबद्धता मुख्यमन्त्री गुरुङले जनाएका छन् ।

तटबन्धका लागि यो वर्ष बजेट विनियोजन नभए पनि खोजखाज गरेरै मिलाउने बताएपछि स्थानीय पनि हर्षित भएका छन् ।

प्रदेश सरकारको सहयोगमा तटबन्ध भइहाले पनि सेन्टर निर्माणको काम अगाडि भने बढ्ने अवस्था छैन । एन्फाका कुनै पनि योजना बन्नु अगाडि साधारणसभाबाट पास हुनुपर्छ ।

कोरोना महामारीका कारण एन्फाको साधारणसभा बस्नै सकेको छैन । जिल्लाबाट यो एकेडेमीको प्रस्ताव केन्द्रमा गएको पनि छैन । प्रस्तावै नपुगी पारित हुने छ कुरै छैन ।

एन्फाको साधारणसभाले पास गरिहालेपनि फिफाको स्वीकृति पर्खनु पर्ने हुन्छ काम सुरु हुनका लागि ।

एन्फाको साधारणसभाबाटै पारित नभएको प्रस्तावमा फिफाले स्वीकृति दिने त कुरै भएन । यो विषयमा एन्फाकै कार्यसमितिबीच ठूलै विवाद छ ।

कार्यसमितिमा थाहै नदिई अध्यक्ष शेर्पाले एकलौटी ढंगले योजना ल्याएको भन्दै उनको आलोचना भइरहेको छ ।

पर्यटकीय केन्द्र पोखराको नजिकै अनि माछापुच्छ्रे हिमालको काखमा यति महत्वको योजना बनेको खण्डमा गाउँपालिका मात्र होइन समग्र कास्कीको विकासमा यो कोषेढुंगा सावित हुनसक्छ ।

माछापुच्छ्रे क्षेत्र खेलकुद पर्यटनको केन्द्र बन्न सक्छ । देशविदेशका खेलाडी, प्रशिक्षकहरु हिमालको चिसो हावामा खेलकुदको आनन्द लिन सक्छन् । तर योजनाले मूर्तरुप लिन नपाउँदै अनि प्रक्रिया सुरु नहुँदै गरिएको हल्लीखल्लीले स्थानीयलाई पछि निराश पार्छ कि भन्ने आशंका उब्जेको छ ।

यसमा सरोकारवालाको बेलैमा ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया