चोला फेर्दै पोखराको ६२ वर्ष पुरानो पुस्तकालय

समाधान संवाददाता २०७७ कार्तिक ३ गते ६:००

समाधान संवाददाता, पोखरा

पुस्तकालय ज्ञानको भण्डार हो । अहिले त पुस्तकालयको यति महत्व छ भने राणाकालमा कस्तो थियो होला ।

१ सय ४ वर्षे जहानीया राणा शासनबाट मुक्त भएसँगै कास्कीमा शैक्षिक संस्थाहरु खुल्न थाले, अनि सँगै पुस्तकालय ।

Advertisement

मनकारी शिक्षाप्रेमीहरु विद्यालय र पुस्तकालयका लागि निशुल्क जग्गा दान दिन तयार हुन्थे त्यतिबेला ।

राणाकाल र त्यसपछि पनि पाल्पाको तानसेनपछि पोखरा शैक्षिक केन्द्र बनेको थियो । पोखराको मुख्यबजारभन्दा पूर्वतिर पनि शिक्षाको राम्रै प्रभाव थियो ।

Advertisement

राणा शासनविरुद्ध लड्न होस् या शिक्षाको दियो फैलाउन सेती पूर्वका बासिन्दाको उल्लेख्य भूमिका रह्यो । यही क्रममा ६२ वर्षअघि खुलेको थियो कुँडहरमा अरण्यज्योति पुस्तकालय स्थानीय सिग्देल, चौधरी, ढेवाजू, मुसलमान, गुरुङ अगुवाहरुको अग्रसरतमा खुलेको पुस्तकालय आजपर्यन्त छ ।

त्यही पुस्तकालले ६२ वर्षमा चोला फेर्न लागेको छ । नयाँ जमानामा आधुनिक प्रविधिसहितको पुस्तकालय बनाउने लक्ष्यका साथ आइतबार भवन शिलान्यास गरिएको छ ।

शिलान्यासपछि पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जसरी वायरलेस टेलिफोनको विकास भएको छ त्यसै गरी पेपरलेस पुस्तकालय हुनुपर्ने बताए ।

उनले भने, ‘प्रविधिमय पुस्तकालय हुनुपर्छ । आरमदायी र सुविधा सम्पन्न पुस्तकालय हुनुपर्छ । पठन संस्कृतिको विकासका लागि महानगरले सम्दो सहयोग गर्छ ।’

पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले कुँडहरलाई प्रविधिमय पुस्तकालयको माध्यमबाट सुसूचित गराई समग्र समाज रुपान्तरण गर्ने अभियानमा पुस्तकालय अगाडि बढ्नुर्ने बताए ।

एलएन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले ३ महिनाभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नेगरी सम्झौता भएको पुस्तकालयका अध्यक्ष राजेन्द्र अध्यक्ष भण्डारीले जानकारी दिए ।

भवन निर्माणका लागि पोखरा महानगरले ३८ लाख ६८ हजार रुपैयाँ छुट्याएको छ ।

बाल, महिला, श्रव्यदृश्य, खेलकुद तथा संगीत साथै आध्यात्मिक कक्षसहित सभाहल अबको भवनमा रहने अध्यक्ष भण्डारीले बताए ।

उनले भने, ‘नयाँ भवन शिलान्यासपश्चात् हामी सबैको लागि एउटा नयाँ सोच, विचार र दृष्टिकोण बन्न सक्छ र बनाउनु पनि पर्छ ।’

२१ औं शताब्दीको पठन संस्कृति, भवन र प्रविधिका साथ आगामी दिनमा विद्यार्थीका लागि ज्ञानवर्दक, युवाहरुका लागि नेतृत्व र बृद्धवृद्धाका लािग शान्तिवाहक बनि प्रत्येक जनजनमा यो पुस्तकालयलाई पु¥याउने प्रतिबद्धता उनले जनाए ।

तपाईको प्रतिक्रिया