सडकले जोडिँदै डोल्पा र मुस्ताङ

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १०:००

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङ र डोल्पा जोड्ने सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक डिभिजन कार्यालय बागलुङले गण्डकी र कर्णाली प्रदेशलाई जोड्ने सडक विस्तारको जिम्मा लिएको सबइन्जिनियर सगुनकुमार सार्कीले जानकारी दिए ।

Advertisement

मन्त्रालयले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा र मुगु गरी ४ जिल्ला जोड्ने रणनीतिका साथ आर्थिक वर्ष २०७६/०७७ मा ११ करोड बजेट विनियोजन गरेको छ ।

उनका अनुसार कर्णालीको डोल्पा र गण्डकी प्रदेशको सिमाना याकखर्कसम्म सडक विस्तार गर्नका लागि अहिले ५ प्याकेजमा काम भइरहेको छ ।

Advertisement

मुस्ताङको साङ्ताहुँदै याकखर्कसम्म सडक जोड्न बारागुङ मुक्तिक्षेत्रको एक्लेभट्टीदेखि ५ प्याकेजमा काम भइरहेको छ । अहिले प्याकेज ५ को साङ्तादेखि करिब ७ किमी नयाँ ट्रयाक खुल्ला गरिएको छ ।

सबइन्जिनियर सार्कीका अनुसार एक्लेभट्टीदेखि सुरुआती २ प्याकेजको करिब १४ किमी सडकको बजेट २ करोड, तिरीतालदेखि बारागुङ मुक्तिक्षेत्र—५ साङ्तागाउँसम्मको करिब १७ किमी सडकको २ प्याकेजको २ करोड र साङ्तादेखि याकखर्क जोड्ने करिब १२ किमी सडकको बजेट ५ करोड छ ।

मुस्ताङ र डोल्पा जोड्ने सडकको प्याकेज १ र २ को सडक निर्माणको काम महादेव निर्माण सेवाले जिम्मा लिएको छ । प्याकेज ३ र ४ को सडक निर्माणको काम अमित बिल्डर्स र प्याकेज ५ को सडक निर्माणको जिम्मा राधाकृष्ण एन्ड ब्रदर्श कन्ट्रक्सनले लिएको हो ।

सरकारले मुस्ताङ र डोल्पा जोड्ने उद्देश्यले सीमावर्तीक्षेत्र याकखर्कसम्म सडक पु¥याउने लक्ष्य राखेको छ । डोल्पाबाट पनि मुस्ताङ जोड्ने सडक विस्तारको काम भइरहेको छ ।

यस भन्दाअगाडि भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६मा ४ करोड बजेट विनियोजन गरेको थियो । मुस्ताङबाट डोल्पा जोड्ने सडक ११ मिटर चौडा हुनेछ ।

कोभिड १९ को विषम परिस्थितिमा समेत मुस्ताङ—डोल्पा सडकको कामले तीव्रता पाएको छ ।

सबइन्जिनियर सार्कीका अनुसार डोल्पा जोड्ने सडक अन्तर्गत प्याकेज १ र २ मा ७० प्रतिशत र प्याकेज ३ र ४ मा ८५ प्रतिशत र प्याकेज ५ को काममा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

प्याकेज ५को कामवाहेक ४ वटै प्याकेजको काम कात्तिक मसान्तभित्र सम्पन्न हुने र प्याकेज ५ को काम चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको उनले बताए ।

भौगोलिक विकटताको मुस्ताङ—डोल्पा जोड्ने सडक करिब ४५ सय मिटरको उचाइबाट सडक स्तरोन्नतिको कार्य भइरहेको छ ।

मुस्ताङका प्रतिनिधिसभाका सदस्य प्रेमप्रसाद तुलाचनले नेपालको उत्तरी हिमाली क्षेत्रका जिल्लालाई सडक सञ्जालले जोड्न संसद तथा मन्त्रालयमा कुरा उठाएको बताए ।

२ प्रदेशका २ हिमाली जिल्ला सडक सञ्जालले जोडिएपछि आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उल्लेख गर्दै उनले सडकले स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

उत्तरी डोल्पाका बासिन्दालाई खाद्यान्न तथा मालसमान ढुवानीका लागि मुस्ताङ आउन जानको लागि सहज हुने बारागुङ —५ का वडाध्यक्ष राप्के गुरुङले बताए ।

अहिले उत्तरी डोल्पाका स्थानीय हिडेर मुस्ताङ हप्तौं लाग्छ । उत्तरी डोल्पाका स्थानीयले मुस्ताङबाट घोडा, घच्चड, याकचौरीलाई खाद्यान्न तथा मालसमान बोकाएर लैजाने गर्छन ।

सडक सञ्जालले जोडिएमा उनीहरु एकैदिन मुस्ताङ आउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया