काकाको हत्या गरेर भागेका इन्द्र ५ महिनापछि पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १८:२०

समाधान संवाददाता, पोखरा

ओखलढुंगाका टंकबहादुर तामाङ ३ वर्ष अगाडि पोखरा आए ।

ज्याला मजदुरीका लागि आएका टंक पोखरा आसपासका क्षेत्रमा काममा लागे ।

Advertisement

सुनकोशी गाउँपालिकाका टंक गत कात्तिकदेखि पोखरा २० मजुवा बिसौना विजयपुर कोट पर्यटकीय पैदल मार्गको निर्माणमा खटिए ।

भतिज इन्द्रबहादुर तामाङ र सिन्धुलीका २४ वर्षीय पन्थबहादुर तामाङ पनि उनीसँगै बस्थे ।

Advertisement

३ जना एकै ठाउँमा काम गर्थे । काका टंक र भतिज इन्द्रबीच सधैंजसो झगडा भइरहन्थ्यो ।

गत वैशाख २० गते राति काका, भतिज र पन्थसँगै बसेर रक्सी पिइरहेका थिए ।

तर रक्सी र मासु खाएको र भाँडा खसालेको विषयमा काका भतिजबीच झगडा सुरु भयो ।

सधैं झगडा गरिरहने भएकाले पन्थ सुत्नका लागि भन्दै छिमेकीकहाँ गए । उनी छिमेकीको पिँढीमा गएर सुते ।

पन्थ भोलिपल्ट बिहान घरमा जाँदा टंक र इन्द्र दुवै थिएनन् । उनले चासो पनि दिएनन् ।

यता सोही बिहान ६ बजे मजुवामा टंकको शव फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यो । शव पाल र स्याउलाले बेरिएको थियो । मृतकको टाउको र अनुहारमा चोट थियो ।

प्रहरीले तत्कालै उनका भतिज र साथी पन्थको बारेमा खोजी ग¥यो । पन्थले रातिको घटनाको बेलिविस्तार लगाए ।

टंकका भतिज इन्द्र गायब थिए । टंकका छोराले इन्द्रको विरुद्धमा किटानी जाहेरी दिए ।

५ महिनादेखि फरार रहेका इन्द्रलाई आइतबार कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनलाई लमजुङको सोतीपसलबाट पक्राउ गरी कास्की ल्याइएको छ ।
प्रहरीसँगको बयानमा इन्द्रले हत्या गरेको स्वीकारेका छन् ।

रक्सी र मासु खाएको बेला भाँडा खसालेको भन्दै काकाले आफूलाई गाली गरेपछि रिसको झोकमा ढुंगाले हानेर हत्या गरेको इन्द्रले स्वीकारेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताएका छन् ।

इन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया