६ महिना गाउँ छोड्ने साङ्तेली

समाधान संवाददाता २०७७ कार्तिक ६ गते १८:४५

एसके थकाली, जाोमसोम

मुस्ताङको सदरमुकाम जोमसोमदेखि ४० किलोमिटर उत्तर पश्चिममा एउटा बस्ती छ स्याङ्ताङ । डोल्पाको सिमाना याकखर्कसँगै जोडिएको गाउँको छुट्टै विशेषता छ ।

राज्यको खासै उपस्थिति नभएको स्याङ्ताका बासिन्दा बर्खाभर आफ्नै गाउँमा बस्ने र हिउँद लागेपछि खोलापारिको पारिलोघोक बसाइ सर्छन् ।

Advertisement

स्थानीय शंका गुरुङले बाध्यताले ६ महिना यता र ६ महिना उता बसाइसराइ सर्नु परेको बताइन् ।

उनले आफूहरुलाई कोभिड १९ बारे ज्ञान नभए पनि सबैले भनेको सुन्दा डर लागेकाले नयाँ मान्छे आउने डरले गत वर्षभन्दा १५ दिनअघि नै बस्ती सर्न लागेको जनाइन् ।

Advertisement

यसपटक कोभिड १९को कारणले गाउँमा नयाँमान्छे आउने डरले चाँडै लेकमा बस्ती सर्न लागेको उनले बताइन् । गाउँलेहरु बस्ती सर्दा ६ महिनाका लागि खानेबस्ने मालसामान लिएर उकालो चढ्छन् ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ अन्तर्गतको साङ्तागाउँ भौगोलिक रुपमा अत्यन्तै विकट, भिरालो र जोखिम स्थानमा छ ।

डोल्पा र मुस्ताङ जोड्ने सीमावर्ती ठूलाठूला पहाडको खोंचमा रहेको यो बस्ती पुग्न जोमसोमबाट ४ हजार ५ सय मिटर अग्लो बाटो हुँदै यात्रा तय गर्नुपर्छ ।

आर्थिक, भौतिक र सामाजिक रुपले अत्यन्तै पछि परेको गाउँका स्थानीयको दिनचर्या निकै कष्टकर छ । यहाँका अधिकांश स्थानीयहरु साक्षर छैनन् । गाउँमा नयाँ मानिस आउँदा उनीहरु प्रष्ट नेपालीसमेत बोल्न सक्दैनन् ।

जोमसोम नजिकै भएर पनि राज्यको खासै उपस्थिति नभएको गाउँमा पछिल्लो समय कच्ची सडक विस्तार भएसँगै कहिलेकाहिँमात्र राज्यको ध्यान केन्द्रित हुन थालेको छ ।

यो बस्ती स्थान्तरणको निकै घतलाग्दो कथा छ । धेरै वर्ष पहिले यहाँ बस्ती स्थान्तरणका लागि स्थानीयबीच होडबाजी चल्यो ।

बस्तीका लागि स्थानीय ३ समुहमा विभाजन भई गोलाप्रथा गरे ।

गोला प्रथामा परेका साङ्तागाउँमा बसे भने गोलप्रथामा नपरेका डोल्पातर्फ हानिएको स्थानीय बुढापाका बताउँछन् ।

साङ्तामा १३ घरधुरीमा करिब ६५ जना बसोवास गर्छन ।

साँघुरो क्षेत्रफलको एकै ठाउँमा ढुंगा र माटोले निर्मित एक आपसमा जोडिएको गुजुमुच्च स-साना घरहरु छन् । गाउँमा खेतीपाती लगाउने सीमित जग्गा जमिन छ ।

त्यहाँका बालबालिकालाई भने केही संघसंस्थाले जोमसोम आसपास लगेर निशुल्क शिक्षा प्रदान गरेकाले गाउँको सरकारी स्कुल पनि रित्तै छ ।

शिक्षकसमेत कोभिड १९को कारण विद्यालय गएका छैनन् । गाउँका युवाहरु खेतीपाती, पशुपालन, यार्सा संकलन गर्ने काम लागेका छन् ।

केही उपल्लो डोल्पाका स्थानीयले साङ्ता हुँदै याकचौरी र घोडाखच्चडलाई भारी बोकाएर मालसामान लिन जोमसोम आउने भएकाले केहीले सामान्य व्यापार व्यवसाय पनि सुरु गरेका छन् ।

साङ्ता गाउँ अन्नपूर्ण संरक्षण अन्तर्गत निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्छ । स्थानीय पञ्चकढोका गुरुङले खेतीपाती र पशुपालन व्यवसायबाट दैनिक गुजारा चलाउने गरेको बताइन् ।

उनले गाउँगाउँमा बिजुली र टेलिफोनजस्ता आधुनिक प्रविधिको पहुँच पुगे पनि आफ्नो गाउँमा सरकारले कुनै सुविधा दिन नसकेको दुखेसो सुनाइन् । उनले गाउँमा खेतीपातीका लागि सरकारले कुनै उपकरण उपलब्ध नगराएको कारण खेतीपातीको काममा कठिन भएको बताइन् ।

मुस्ताङको ९६ गाउँमध्ये सबैभन्दा पिछडिएको दुर्गमको बस्ती साङ्तामा स्थानीयले वर्षेनी एक बालीमात्र लगाउँछन् । उनीहरुले वर्षेनी गहुँ, तितेफापर, आलु र सिमी लगायत अन्नबाली लगाउँछन् ।

कच्ची सडक विस्तार भएपछि केही स्थानीयले मोटरसाइकल किन्न थालेका छन् । पछिल्लो समय सरकारले गाउँकै बाटो भएर डोल्पा सडक जोड्न थालेकोले अहिले स्थानीय मख्ख छन् ।

तपाईको प्रतिक्रिया