पोखराको पर्यटन–आकाशमा चहलपहल, अन्त सुनसान

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ७:१६

अनुप आत्रेय, पोखरा

डुंगा चालकलाई अरुसँग बोल्ने फुर्सद हुँदैनथ्यो । भक्तजनको लाइन थेगिनसक्नु हुन्थ्यो । घन्टौं लाइन बस्दा पनि पालो पाउनै मुस्किल ।

लाइन बस्नुपर्ने झन्झटले कति त आकाश नउज्यालिँदै मन्दिर पुग्थे ।

Advertisement

दसैंको सुरुआतसँगै फेवातालबीचको तालबाराही मन्दिरमा यस्तै दृश्य देखिन्थ्यो । तर यो वर्ष त्यस्तो भएन ।

सरकारले मठमन्दिर नखोल्न भनेपछि तालबाराही मन्दिर परिसर यो वर्ष दसैंमा सुनसान छ ।

Advertisement

दसैंमा तालबाराहीजस्तै भीड हुने विन्ध्यावासिनी र फेवा किनारको केदारेश्वर मन्दिर पनि सुनसान छन् । अरु मठमन्दिरमा पनि उस्तै छ ।

दसैंको सुरुआतसँगै लेकसाइडका सडक र फेवा किनारको फुटट्र्याक भरिभराउ हुन्थे । दसैं छुट्टी मनाउन कोही हरेक वर्ष पोखरा आउँथे ।

विदेशी पर्यटकको पनि राम्रै चहलपहल हुन्थ्यो । अहिले विदेशी पर्यटक पछि छैनन् ।

लकडाउनले पोखरामै राकिएका २५ सयभन्दा बढी विदेशीले कोरोना कहरकै बीच पोखरा छोडे ।

उनीहरु फेरि पोखरा घुम्न कहिले फर्किन्छन् थाहा छैन । मठमन्दिर, होटल, डुंगा व्यवसाय, पदमार्ग सुनसान छन् ।

पदयात्रालाई सरकारी निर्णय र स्थानीय अवरोध

पदयात्राका लागि वर्षभरमा २ सिजन राम्रो मानिन्छ । एउटा सेप्टेम्बरदेखि नोभेम्बर (भदौदेखि कात्तिक) र अर्को फेब्रुअरीदेखि अप्रिल (माघदेखि चैत) ।

अन्नपूर्ण र मर्दीजस्ता पदमार्गमा भारत, इजरायल, जर्मनी, तथा फ्रान्सका बढी पर्यटक आउँछन् ।

गण्डकी प्रदेशमा सानाठूला गरी ५५ भन्दा बढी ट्रेकिङ रुट छन् । २५ सय गाइड छन् । लाइसेन्स लिएका भने १५ सय जना छन् ।

१ सय ५९ ट्रेकिङ एजेन्सी टानसँग आबद्ध रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

पदयात्रामा आउन पर्यटकले सोधखोज गरे पनि केही बाध्यकारी व्यवस्था समस्या बनेको उनले सुनाए ।

‘पिसिआर रिपोर्ट चाहिन्छ भन्नु ठिक हो तर ७ दिन क्वारेन्टाइन बस्नुपर्ने, ५ हजार डलर बराबरको बिमा गर्नुपर्ने अनि मजदुरको पटकैपिच्छे पिसिआर गर्नचाहिँ समस्या हुन्छ,’ उनले भने,‘त्यसमाथि सबै टे«किङ रुट खुलेका छैनन् । स्थानीयबाट अवरोध छ ।’

राउन्ड अन्नपूर्ण, अन्नपूर्ण बेस क्याम्प, मनास्लु, पुनहिल, अपर मुस्ताङ, राउन्ड धौलागिरी, मर्दी गण्डकी प्रदेशको चलनचल्तीका पदमार्ग हुन् ।

अफरले बढाएको ‘प्याराग्लाइडिङ क्रेज’

सरकारले पर्यटन क्षेत्रको बन्दाबन्दी हटाएपछि पोखरामा सबैभन्दा बढी चहलपहल प्याराग्लाइडिङमा छ ।

आधा मूल्यमा उडाउन थालेपछि पोखरा र आसपासका ठाउँबाट प्याराग्लाइडिङ गर्न आउनेको संख्या बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पहिला नेपाली पर्यटकलाई साढे सात हजार रुपैयाँमा उडाइन्थ्यो । अहिले ३५ सय रुपैयाँमा उडाइएको उनले बताए । ‘व्यावसायिक हिसाबले खासै फाइदा छैन । तर छुट दिँदा धेरै जना उड्नुभयो । राम्रै मुभमेन्ट भयो,’ अध्यक्ष भण्डारीले भने ।

पोखरामा ३ सय ३८ जना लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट छन् । लकडाउन अघिसम्म १२ जना विदेशी पाइलटले पनि पर्यटक उडाउँथे । पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

खाली छन् होटल

असोजदेखि पुससम्म पोखराका होटलमा ८० प्रतिशतसम्म अकुपेन्सी हुन्थ्यो । यो वर्ष होटल खाली छन् । केही होटलले क्वारेन्टाइन सेवा दिएका छन् ।

प्रशासनले क्वारेन्टाइन सूचीकृत गरेका २४ मध्ये केही होटलले मात्रै सक्रिय रुपमा सेवा प्रवाह गरिरहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘३/४ वटा होटलले सक्रिय सेवा दिएका छन् । अब होटललाई आइसोलेसन बनाउने भन्ने कुरा पनि आएको छ,’ उनले भने ।

दसैंमा संक्रमण घट्ने र पर्यटकको चहलपहल बढ्ने व्यवसायीको आश थियो । तर यही बेला संक्रमण दर दोब्बर हुन थाल्यो ।

‘संक्रमण उच्च हुँदै गएको छ । अहिले काम विशेषले पोखरा आउनेबाहेक पर्यटकको आवागमन छैन,’ अध्यक्ष तुलाचनले भने, ‘केही होटलले प्याकेज पनि ल्याएका छन् । अब त्यसमा कत्तिको आकर्षण देखिन्छ हेरौं ।’

पोखरामा ७ सय हारहारीमा पर्यटकस्तरका होटल छन् । लकडाउनअघि ती होटलमा १५ हजारभन्दा बढीले काम पाएका थिए ।

कोरोनाले होटल बन्द भएपछि धेरैले रोजगारी गुमाएका छन् । पोखराका होटलमा झन्डै १ खर्ब २५ अर्ब लगानी छ ।

भक्तजन पर्खिरहेछन् मठमन्दिर

कोरोना महामारीले मठमन्दिर बन्द नभएको भए पोखराको तालबाराही मन्दिरमा दसैंमा दैनिक तीन हजारसम्म भक्तजन पुग्थे । अहिले मन्दिर परिसरमा पुजारी र सरसफाइ गर्नेबाहेक अरु भेटिँदैनन् ।

७ महिनादेखि बन्द मन्दिर कोरोना महामारीले बन्द हुँदा भक्तजन घरभित्रै थुनिन बाध्य भए ।

‘डोरी टाँगेर प्रवेश निषेध भनेर लेखेका छौं । पुजारीले बिहान गएर पूजा गुर्नहुन्छ नभए मन्रिको मूल ढोका बन्द नै छ,’ तालबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले भने ।

तालबाराहीसहित विन्ध्यवासिनी, गुप्तेश्वर, केदारेश्वर, भद्रकाली लगायत मन्दिरमा दसैंमा भक्तजनको भीड हुन्थ्यो । मन्दिर खुलाउन प्रशासनसँग अनुमति लिन मन्दिरका पदाधिकारीले पहल गरे पनि अनुमति पाएनन् ।

सुरक्षा सतर्कता अपनाएर मन्दिर खोल्ने भनेर छलफल गर्दा प्रमुख जिल्ला अधिकारी पनि पन्छिए ।

आफूसँग मठमन्दिर खोल्ने निर्णय गर्न अधिकार नभएको भन्दै सिडिओ पन्छिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले बताए ।

‘सरोकारवाला निकायले अनुमति नदिएकाले मन्दिर खोल्न सकेनौं भनेर सूचना टाँसेका छौं,’ उनले भने, ‘नित्यकर्म लकडाउन र निषेधाज्ञामा पनि जारी थियो । अहिले पनि चलिरहेकै छ । तर दर्शनार्थीका लागि मन्दिर खुल्न सकेन ।’

सस्तो प्याकेज लागु गर्नै पाइएन

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा घुम्न सस्तो प्याकेज घोषणा ग-यो ।

२ रात ३ दिनको पोखरा बसाइँमा पोखराका पर्यटकीय गन्तव्य साढे ४ हजारमा घुम्न पाइने भनिएको थियो ।

त्यसबाहेक गण्डकी प्रदेशका विभिन्न पर्यटकीय, धार्मिक र ऐतिहासिक गन्तव्य घुम्दा सबैभन्दा धेरै साढे २५ हजार (५ रात ६ दिन) को प्याकेज थियो ।

पोखराको पर्यटकीय गतिविधिलाई चलायन बनाउन प्याकेज ल्याइए पनि कोरोना संक्रमणको दर बढ्दा लागु गर्न सम्भव नभएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

‘मुस्ताङ खुलेको छैन । घान्द्रुक खुलेको छैन भन्ने म्यासेज गइसक्यो,’ उनले भने, ‘हामीले पोखरा खुल्यो भनेर म्यासेज दिन सकेनौं । त्यसले गर्दा प्याकेजले मार्केट लिन सकेन ।’

नाट्टामा १ सय ८१ ट्राभल एजेन्सी आबद्ध छन् । ती व्यवसायीसँग भएको सवारी साधन र बैंकको लगानी गरेर झन्डै ३ अर्ब लगानी टुर्स एन्ड ट्राभलमा रहेको अध्यक्ष सिग्देलले बताए । त्यसमा २ सय ६१ वटा पर्यटकस्तरका सवारी छन् ।

डुंगा कसले चढ्ने ?

सरकारले चैतमा लकडाउन घोषणा गरेको २ दिनअघि नै फेवातालमा डुंगा बन्द भयो । झन्डै ८ सय डुंगा चालक त्यसपछि कामविहीन भए ।

अहिले जिल्ला प्रशासनमार्फत अनुमति लिएर डुंगा चलाए पनि घुम्न आउनेहरु निकै कम रहेको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

अहिले धेरैमा दिनको १० वटा डुंगाले काम पाएको उनले सुनाए । ‘तालबाराही मन्दिर लगेका छैनौं । त्यसको राउन्डमात्रै लगाइदिन्छौं,’ अध्यक्ष नेपालीले भने, ‘लकडाउन नहुँदासम्म राम्रै थियो । अहिले बिजोग बनायो ।’

फेवातालमा विभिन्न ८ घाट छन् । ३ सयमध्ये अधिकांश डुंगा चालक घरमै बसेको उनले बताए । लकडाउनपछि समितिले डुंगा चालकलाई राहतसमेत वितरण गरेको थियो ।

बेगनास तालका २ सय ५७ डुंगा पनि सात महिनादेखि पानीमै छन् । ‘हामीले त डुंगा पानीबाट बाहिर निकालेकै छैनौं,’ बेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेलले भने, ‘मान्छे आउँछन् तर डुंगा चढ्दैनन् । पार्कतिर गएर बस्छन् । कहिलेकाहीँ झुक्किएर चढ्छन् ।’

बेगनासतालमा १ सय ८१ जना डुंगा चालक छन् । लकडाउनअघि १ सय वटासम्म डुंगा चल्ने गरेको उनले सुनाए ।

‘विद्यार्थी आउँदा त दिनको १ सय वटासम्म पनि चल्थे । नभए ३० वटासम्म चल्थ्यो,’ अध्यक्ष कँडेलले भने, ‘पहिला राम्रो चल्ने डुंगा अहिले ठप्पै भयो ।’

तपाईको प्रतिक्रिया