सरकारी कार्यालय सुनसान, पढाइ यथावत

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ६:५०

एसके थकाली, जोमसोम

दसैंको छैटौं दिन मुस्ताङका प्राय सरकारी कार्यालय सुनसान रहे । वडा दसैं ३ दिनमात्र विदा दिएको कारण शिक्षकहरु भने कार्यस्थलमै निरन्तर रुपमा खटिएका छन् ।

कोरोना कहरको कारण सरकारले दसैं लगायत पर्व यथास्थानमा मनाउन भनेको छ । तर सरकारी कार्यालयका कर्मचारीहरु दसैं मनाउन घर प्रस्थान गरेका छन् ।

Advertisement

५ स्थानीयतह रहेको मुस्ताङमा संघ तथा प्रदेशतहका कार्यालयमा कर्मचारी दसैं विदामा धमाधम घर फर्किएकाले सरकारी कार्यालयहरुमा शून्यता छाएको हो । अधिकांश सरकारी कार्यालयहरु सहयोगीकै भरमा खुलेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले सरकारी कर्मचारीले स्थानीय प्रशासनसँग समन्वयगरी दसैं विदामा घर गएको जानकारी दिइन् ।

Advertisement

उनले राष्ट्र सेवक कर्मचारी सचेत नागरिक भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने विश्वास व्यक्त गरिन् ।

‘सरकारले दसैं विदा दिएर बसोवास गरेकै स्थानमा मनाउन अनुरोध गरेको छ,’ उनले भनिन्, ‘कर्मचारीलाई कोरोना संक्रमणबाट जोगिएर पर्व मनाई सुरक्षित रुपमा कार्यस्थल फर्किन निर्देशन दिएका छौं ।’

उनले मुस्ताङ ग्रिन जोनमा कायमै रहेकाले कर्मचारीलाई दसैं मनाउन नरोकिएको जानकारी दिइन् ।

हिउँदयामका सेवाग्राहीको चाप कम हुन भएकोले कर्मचारीलाई दसैं विदामा घर जानलाई रोक्न नसकेको उल्लेख गर्दै उनले कर्मचारी कार्यस्थलमा फर्किएपछि क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइने बताइन् ।

सरकारले वैकल्पिक प्रणालीको दुर शिक्षा सिकाइ निर्देशिका २०७७ गत असार १ गतेदेखि जारी गरेपछि थासाङ गाउँपालिका बाहेक अरु स्थानीयतहका सामुदायिक विद्यालयमा पठन पाठन हुन सकेको थिएन ।

दसंै विदामा ४ वटै स्थानीयतहका सामुदायिक विद्यालयमा साविक अनुसारको पढाई हुने शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख टंकराज बरालले जानकारी दिए ।

थासाङले वैकल्पिक प्रणाली दुरशिक्षा चलाएको कारण दसैंमा १५ दिन विदा दिने निर्णय पालिकाले गरेको छ ।

समन्वय इकाई प्रमुख बरालले मुस्ताङमा दुर शिक्षा अन्तर्गतको रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच नभएको र कतिपय विद्यालयमा विद्यार्थी संख्या न्युन रहेकाले पालिकाले पाठ्य सामग्री छापेर नियमित रुपमा कक्षाकोठामा पढाई चलाएका छन ।

विद्यमान परिस्थितिमा स्थानीयतह र विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दसैंमा ३ दिन विदा गर्ने निर्णय भएको जनकल्याण आधारभूत विद्यालय स्याङका प्रधानाध्यापक रामप्रसाद शर्माले बताए ।

उनले यस वर्ष विद्यालयमा विद्यार्थी सिकाई सहजीकण निर्देशिका अनुसार पढाउनु पर्ने भएकाले दसैं विद्यालयमै मनाउने जानकारी दिए ।

लोमान्थाङ, लोघेकर, बारागुङ र घरपझोङ गाउँपालिकाका विद्यालयले असोज १ गतेदेखि विद्यार्थी सिकाई निर्देशिका अनुसार खुलेका छन् ।

मुस्ताङका ५ स्थानीय तहमा ५४ सामुदायिक विद्यालय र १० संस्थागतसहित गुम्बा विद्यालय छन् ।

तपाईको प्रतिक्रिया