मुस्ताङबाट डेढ सय शिक्षक दरबन्दी कटौती गर्दै सरकार

समाधान संवाददाता २०७७ कार्तिक ७ गते ०:००

एसके थकाली, जोमसोम

Advertisement

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मुस्ताङमा बढी भएका करिब १ सय ५० शिक्षक दरबन्दी कटौती गर्न लागेको छ ।

कटौतीमा परेका शिक्षकलाई गण्डकी प्रदेशको बागलुङ र नवलपुरमा पुनर्वितरण गर्ने मन्त्रालयको योजना छ ।

मन्त्रालयले स्थानीयतह जिल्ला र प्रदेशगत रुपमा बढी भएका विद्यालयको शिक्षक कोटा घटाएर र नभएका विद्यालयमा दरबन्दी मिलान गर्न लागेको हो ।

यसअघि मन्त्रालयले २०७६ साल भदौ ५ गते शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण सम्बन्धी निर्णय गरेको थियो ।

Advertisement

मन्त्रालयको निर्णयपछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको २०७६ मंसिर ३० गतेको वेबसाइटमा सूचना प्रकाशित गरी कार्यान्वयनको चरणमा रहेको शिक्षक दरबन्दी मिलान कार्य अगाडि बढाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।

उनले मुस्ताङमा कार्यरत १ सय ५० शिक्षक दरबन्दी कट्टी गरी अन्य जिल्लामा पुनर्वितरण हुन लागेको बताए ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले २०७७ श्रावण १६ गते गोरखापत्रमा सूचना जारी गरी शिक्षक दरबन्दी मिलानकार्य सम्पन्न गर्न जिल्लाका स्थानीयतहलाई जानकारी गराएको थियो ।

केन्द्रले कार्तिक १ गते स्थानीयतहमा पुलमा रहेका स्थानीयतहका कार्यरत शिक्षकसँग निवेदन संकलन गरी दरबन्दीसहित सरुवा भई पठाउने अवधि कात्तिक मसान्तसम्म तोकेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका अनुसार मुस्ताङका ५ स्थानीयतहको कुल ३ सय २२ मौजुदा शिक्षक दरबन्दीमा पुलमा रहेका १ सय ५० दरबन्दी कट्टा गरी गण्डकीका दुई जिल्लामा पुनर्वितरण हुने तयारी भइरहेको छ ।

लोमान्थाङ गाउँपालिकाबाट प्रावि, निमावि र मावि गरी ४४ जना शिक्षक दरबन्दीमा १५, लोघेकर दामोदरकुण्डबाट प्रावि, निमावि गरी २४ दरबन्दीमा ८, बारागुङ मुक्तिक्षेत्रबाट प्रावि, निमावि र माविगरी ६० दरबन्दीमा २७, घरपझोङमा प्रावि, निमावि, मावि र मावि ११ र १२ गरी कुल ८५ दरबन्दीमा ३९ र थासाङमा प्रावि, निमावि, मावि र मावि ११ र १२ गरी १ सय १४ दरबन्दीमा ६१ शिक्षकको दरबन्दी कटौती गरी अन्य जिल्लामा स्थान्तरण हुन लागेको हो ।

मन्त्रालयको कार्यविधि अनुसार मुस्ताङमा पुलमा रहेका शिक्षक उल्लेखित दरबन्दी अन्य जिल्लामा पुनर्वितरित भए अब मुस्ताङमा १ सय ७२ जना शिक्षकको मात्र दरबन्दी कायम हुने छ ।

मुस्ताङबाट अन्य जिल्लामा दरबन्दी मिलान भएमा लोमान्थाङमा २९, लोघेकरमा १६, बारागुङ मुक्तिक्षेत्रमा ३३, घरपझोङमा ४६ र थासाङमा ५३ जना शिक्षककोमात्र दरबन्दी कायम रहने छ ।

मन्त्रालयको निर्णय अनुसार शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण कार्यसम्पन्न भएमा मुस्ताङबाट करिब ५० प्रतिशत शिक्षक दरबन्दी कटौती हुने निश्चित छ । तर,यहाँका स्थानीयतहले पुलमा रहेका शिक्षक पुनर्वितरण गर्ने सहमति गरिएको भए पनि कार्यस्थलबाट सरुवा जान रोकेका छन् ।

स्थानीय तहलाई दरबन्दी नियुक्ति गर्न नपाइने भएकाले मुस्ताङका विद्यालयले शिक्षक पुनर्वितरण गर्ने काममा सहमति नदिएका हुन् ।

तपाईको प्रतिक्रिया