३ महिनामा व्यासको आन्तरिक आय ४ करोड

समाधान संवाददाता २०७७ कार्तिक ८ गते १०:३८

दमौली, रासस

तनहुँको व्यास नगरपालिकाले ३ महिनाको अवधिमा ४ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ ३ करोड १६ लाख ८६ हजार रुपैयाँ र जग्गा रजिष्ट्रेशन दस्तुरबापत ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु ६ करोड कम राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षमा १६ करोड ६ लाख ९६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि १६ करोड रुपैयाँको आन्तरिक आम्दानीको लक्ष्य लिएको थियो ।

Advertisement

आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट १ करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट २ करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट २ लाख, घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फारम तथा अन्यबाट २ करोड २७ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

दुई सय १९ घरमा जस्तापाता राखिने

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका २ सय १९ घरमा खरको छाना हटाइने भएको छ । खरको छानो हटाएर जस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको छ ।

उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

व्यास नगरपालिका– ५ र ६ का ९५, व्यास नगरपालिका– १ देखि ४ तथा ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरमा छाना छाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त भएको छ ।

‘खरको छानो भएका लाभग्राही छनोटका लागि दश दिनको म्याद राखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया