घिरिङका १३८ घरधुरीमा पहिलोपटक बिजुली

समाधान संवाददाता २०७७ कार्तिक ९ गते ११:१०

दमौली

तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १ सय ३८ घरधुरीमा शनिबार पहिलोपटक बत्ती बलेको हो ।

नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित छन् । बत्ती बाल्ने वर्षौँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताइन् ।

‘बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ,’ शाहीले भनिन्, ‘त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।’

स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताइन्। ‘बत्ती नहुँदा गाउँ अहिलेसम्म अँध्यारो थियो, अब त गाउँ नै उज्यालो भयो,’ उनले भनिन्, ‘बत्ती आएपछि अब धेरै कुरामा सजिलो हुने भयो ।’

सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

‘विद्युत् प्राधिकरणका केही कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि मिटर बक्स उपलब्ध हुन नसकेर बाँकी बस्तीमा बत्ती बल्न सकेन । ती बस्तीहरुमा दशैँ लगत्तै बत्ती बल्छ,’ उनले भने ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले शनिबार उक्त गाउँमा बत्ती बालेर विद्युतीकरणको उद्घाटन गरे ।

गाउँपालिकाका अध्यक्ष रानाले ‘उज्यालो घिरिङ’ अभियान पूरा हुने क्रममा रहेको सुनाए। उनका अनुसार गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइएको छ ।

गत हप्तामात्रै घिरिङ–४ को गलकोट र घिरिङ–५ को भाटडाँडाका ४५ घरधुरीमा बिजुली विस्तार भएको थियो ।

घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका अब करिब ५०० घरमा मात्रै विद्युतीकरण गर्न बाँकी छ । बाँकी रहेका घरहरुमा तिहारअगावै बत्ती बाल्ने तयारी छ ।

उपभोक्ता समितिले विगत एक महिनाको अवधिमा अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा पनि विद्युतीकरण सम्पन्न गरेको थियो । कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन गरिएको हो। रासस

तपाईको प्रतिक्रिया