देवघाटमा शव जलाउने दाउरा अभाव

समाधान संवाददाता २०७७ कार्तिक १२ गते १६:२१

रासस, दमौली

दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ ।

तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो ।

Advertisement

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन ।

उनले भने, ‘रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा मुस्किलले एक हप्तालाई पु¥याउन सकिएला ।’

Advertisement

सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि दाउराको अभाव हुँदै आएको छ ।

सालको काठको अवैध ओसारपसार नियन्त्रणका लागि नेपाल सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो ।

विशेषगरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार रोक्न सरकारले काठ उक्त निर्णय गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ ।

यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा रु आठ लाख ८३ हजारमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताए । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ ।

यसबीचमा विभिन्न पहलपछि नारायणगढ–बुटवल सडक आयोजनाले काटेको रुखका २६ चट्टा दाउरा ल्याउनका लागि भुक्तानी गरिएको भए पनि स्थानीयवासीले अवरोध गरेपछि २० चट्टा मात्रै आएको थियो । त्यो दाउरा पनि केही दिनमै सकिन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलले यस समस्याका विषयमा प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा आफूले जानकारी गराएको बताए।

जिल्ला वन कार्यालय नवलपरासीका प्रमुख मोहन काफ्लेले २६ चट्टामध्येको ६ चट्टा पठाउने विषयमा सहमति भएको भए पनि मन्त्रिपरिषद्को निर्णयबिना भुक्तानी लिइसकेको ५० चट्टा भने पठाउन नसकिने जानकारी दिए ।

समितिले चितवन र नवलपरासीबाट दाउरा ल्याउने गर्दछ । समितिका अध्यक्ष पौडेलले समितिसँग आफैमा दाउरा नहुने भएकाले अब हुने समस्याको मूलकारण सरकारको निर्णय नै हुने बताए ।

तपाईको प्रतिक्रिया