कोरोना भित्रिएपछि घरपझोङका विद्यालय बन्द

एसके थकाली, जोमसोम
मुस्ताङको घरपझोङ गाउँपालिकाकी १ महिलालाई बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिको स्थानीय कोभिड—१९ संकट व्यवस्थापन समितिले पालिकाभित्र सञ्चालनमा रहेका सबै विद्यालय बिहीबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
घरपझोङ गाउपालिकाको बुधबार बसेको सिसिएमसीको
आकस्मिक बैठकले विद्यालय तथा समुदायस्तरमा कोरोना जोखिम बढेको भन्दै उक्त निर्णय गरेको घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।
अध्यक्ष थकालीका अनुसार मुस्ताङमा समुदाय स्तरमा पहिलो पटक कोरोना पोजेटिभ संक्रमित भेटिएपछि संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्न स्थानीय कोभिड—१९ संकट व्यवस्थापन समितिले पालिका भित्रको क्षेत्रमा सरकारी सवारी साधन, सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको आवत/जावत बन्द गर्ने निर्णय गरेको छ ।
दसैं तथा अन्य कामकाजका लागि जिल्ला बाहिर रहेका जनप्रतिनिधि, सरकारी तथा संघसंस्थाका कर्मचारी, शिक्षक तथा अन्य सर्वसाधारण व्यक्तिहरुले ७२ घन्टे पिसिआर रिपोर्ट अथवा अनिवार्य १ साता होम क्वारेन्टिनमा बस्नु पर्ने जनाएको छ ।
यस्तै कोभिड पोजेटिभ देखिएका व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका सबै व्यक्तिको छिटो/छरितो रुपमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने प्रक्रिया अघि बढाइदिन जिल्लास्तरीय कोभिड—१९ संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
मुस्ताङमा समुदायस्तरबाट पहिलो पटक कोरोना पोजेटिभ पुष्टि भएकी महिलाको मुस्ताङबाट कात्तिक ३ गते स्वाब क्षयरोग परीक्षण केन्द्रको पोखरास्थित प्रयोगशाला पठाइएको थियो ।
उनको पिसिआर परीक्षण गर्दा ती महिलामा कोरोना पोजेटिभ देखिएको जोमसोम अस्पतालले जनाएको छ । पछिल्लो समय मुस्ताङमा स्याउ,आलु , गाजर र दसैंका लागि भेडा—च्याङ्ग्रा खरिद गर्न आउने व्यापारीका कारण मुस्ताङमा कोरोनाको जोखिम बढेको थियो ।
सरकारले निशेधाज्ञा हटाएपछि मुस्ताङमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि, विभिन्न संघसंस्था लगायतका व्यक्तिको आउजाउ बढेसँगै कोरोनो जोखिम बढेको थियो ।
तपाईको प्रतिक्रिया