काेराेना त्रासले जाेमसाेम बजार सिल, गाडी आउजाउ राेक

एसके थकाली, जाेमसाेम
मुस्ताङको घरपझोङ गाउपालिका—४ जोमसोम बजार बिहीबारदेखि १ साताका लागि पूरै सिल गरिएको छ ।
गाउँ मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाउँ समाजको बिहीबार बसेको आकस्मिक बैठकले कोरोना रोकथाम तथा नियन्त्रण प्रतिकार्य गर्नुपर्ने उल्लेख गर्दै जोमसोम बजार सिल गरेको जोमसोम गाउँ समाजका सचिव गणेश शेरचनले जानकारी दिए ।
गाउँ सचिव शेरचनले जोमसोम बजार क्षेत्रमा समुदाय स्तरमा माहामारीको रुपमा उत्पन्न कोभिड—१९ पोजेटिभ देखिएकाले घरपझोङ गापा वडा नं. ४ अन्तर्गतको जोमसोम बजार कात्तिक १९ गतेसम्मका लागि सिल गर्नु परेको बताए ।
गाउँ समाजले जोमसोम बजार सिल गरेसँगै जोमसोम बजारका स्थानीय तथा सर्वसाधारण व्यक्ति अन्य वडामा र जिल्ला बाहिरिन नपाइने र मुस्ताङका अन्य गाउँपालिका तथा घरपझोङका अन्य वडा र जिल्ला बाहिरबाट आउने व्यक्ति जोमसोम बजार प्रवेश गर्न नपाइने भएकाे छ ।
गाउँ समाजकै निर्देशनमा गाउँमा खटिने कटुवाल कर्मचारीलाई जोमसोमबाट अन्य वडा तथा पालिकामा आाउजाउ गर्न र वडा भित्र सञ्चालित होटलहरुले एकसाता सम्म पाहुना राख्न नपाउने गरी गाउँमा घोक हाल्न लगाइएको छ ।
गाउँ समाजले यसअघि घरपझोङ गाउपालिकाको स्थानीय सिसिएमसीको बैठकले गरेको निर्णय पछ्याउँदै जोमसोम बजारबाट लामो तथा छोटो दुरीको सार्वजनिक तथा निजी सवारी साधनमा आउजाउमा रोक लगाएको छ ।
स्थानीय सिसिएमसीको बुधबार बसेको बैठकले पालिका भित्र सञ्चालनमा रहेका सबै विद्यालय १ साताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाले मुस्ताङमा समुदायस्तरमा पहिलो पटक कोरोना पोजेटिभ संक्रमित भेटिएकाले संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्नुपर्ने भन्दै पालिका भित्रको क्षेत्रमा सरकारी सवारी साधन, सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको आवत/जावत बन्द गर्ने जनाएको थियो ।
मुस्ताङमा पहिलो पटक समुदाय स्तरमा पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम जोमसोम बजार सुनसान बनेको छ । संक्रमण फैलिने सक्ने त्रासले स्थानीय होटल, पसल र विद्यालय बन्द छन् भने सर्वसाधरण घर बाहिर निस्कन सकेका छैनन् ।
कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक टेसिङको माध्यमबाट स्वाब नमुना संकलन गर्नु पर्ने दखिए पनि अझै स्वाब संकलन कार्य अघि बढेको छैन ।
मुस्ताङबाट स्वाब संकलन गरी पोखरा पठाउनु पर्ने झन्झटिलो समस्या र स्वाब संकलनका चाहिने आवश्यक भिटिएम समेत सीमित रहेकाले संक्रमण लक्षण देखिएकाले समेत स्वाब दिन नपाएको स्थानीय बताउछन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य कार्यालयमा ८० थान र जिल्ला अस्पताल जोमसोममा ३० थान मात्र भिटिएम बाँकी छन् ।
तपाईको प्रतिक्रिया