प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँमा ३ हजार सूचीकृत

समाधान संवाददाता २०७७ कार्तिक १४ गते १३:००

रासस, तनहुँ

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् ।

व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।

Advertisement

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।

Advertisement

सोअनुसार शुक्लागण्डकीमा ५८८ बेरोजगार सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीले बताइन् ।

कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले रु ५१ लाख बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम शुरु गर्ने तयारी गरिएको छ ।

म्याग्देमा ४४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम शुरु गर्ने तयारी गरिएको जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई रु ५१ लाख ९२ हजार बजेट विनियोजन भएको छ ।

बन्दीपुरमा ३६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिं गुरुङका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारका तर्फबाट रु ५१ लाख ७० हजार बजेट विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित गाउँपालिका आफँैले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन र ५० योजना छनोट गरेको छ ।

आँबुखैरेनीमा ५४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार कार्यक्रम सञ्चालनका लागि योजना छनोट भइसकेको र तिहारलगत्तै काम शुरु गरिने छ । कार्यक्रमका लागि रु ५१ लाख बजेट विनियोजन भएको छ । व्यासमा भने ९९४ बेरोजगार सूचीकृत भएका छन् ।

तपाईको प्रतिक्रिया