आत्मबल भए मुटुरोगीले पनि जित्छ कोरोना

समाधान संवाददाता २०७७ कार्तिक १५ गते १८:०१

मुटुको अप्रेसन गरेका, मुटुको समस्या भएका युवाहरु जीवन नै अब सकियो जस्तो गरी पीर मानेको देखेको छु । समस्या पीर मानेर सुल्झिँदैन । अनुशासित बन्नुपर्छ । जितिन्छ सबै खाले शरीरमा आक्रमण गर्ने भाइरस र रोगहरु ।

राम गुरुङ

विश्वलाई नै आतंकित बनाउँदै डढेलो झै फैलिएको कोरोना जति सचेत हुँदा पनि मलाई लागिछाड्यो ।

२५ दिनअघि मलाई संक्रमण भयो । मुटुको समस्या भएका, अप्रेसन गरेकाहरुलाई कोरोनाले अरु सामान्यलाई भन्दा दुःख दिन्छ भन्ने समाचार सुन्दै र पढ्दै आएको थिएँ ।

त्यसैले पनि म कोरोना लाग्नै नदिन सचेत थिएँ । मुटुको भल्भले काम नगरकाले २४ वर्षअघि नै मेरो मुटुको भल्भ फेरिएको थियो ।

डा. भगवान कोइराला मेरालागि भगवान हुनुभयो र उहाँले अप्रेसन गरेर मलाई दोस्रो जीवन दिनुभयो । को

रोना संक्रमण भएपछि उहाँलाई नै फोन गरेँ । उहाँले तिमी उच्च मनोबल भएको मान्छे सजिलै कोरोनालाई जित्छौं ढुक्क होऊँ भन्नु भएपछि थप ऊर्जा मिलेको थियो ।

मुटुको अप्रसेन गरेको भए पनि म कहिल्यै पनि नेगेटिभ सोच्दै सोचिनँ । सधै पोजेटिभ सोच्थें ।

यही आत्मबलले नै मैलाई सगरमाथा आधार शिविरसम्म पु¥यायो । २०६६ साल जेठ १५ गते सगरमाथा म्याराथनमा सहभागी भएँ । अन्नपूर्ण म्याराथनमा भाग लिएँ ।

५ हजार ६ सय १६ मिटर उचाइको थोरङ भन्ज्याङ उक्लिएर काटेँ । विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल ३ पटक पुगेँ । अन्नपूर्ण बेसक्याम्पमा पटकपटक पुगँे । उच्च हिमाली क्षेत्रमा मलाई मेरो यात्रा आत्मबलले नै पु¥याएको हो ।

यसैले पनि कोरोना संक्रमण भएको पहिलो खबर पाउँदा केही डर लागे पनि जित्छु भन्ने मेरो आत्मबल बलियो भएर आएको थियो ।

मुटुको अप्रेसन गरेका, मुटुको समस्या भएका युवाहरु जीवननै अब सकियो जस्तो गरी पीरमानेको देखेको छु । सुनेको छु ।

समस्या पीरमानेर सुल्झिँदैन । के खान हुने के नहुने हेक्का राखेर अनुशासित बन्नुपर्छ । डाक्टरले दिएको औषधी नियमितसेवन गर्नुपर्छ । बस यति भएपछि मलाई यो रोग लागेको छ भनेर चिन्ता मान्नु नै पर्दैन । जितिन्छ सबै खाले शरीरमा आक्रमण गर्ने भाइरस र रोगहरु ।

तपाईंहरु जो संक्रमित हुनुभएको छ, उच्च मनोबल बनाउनोस् । खानपानमा ध्यान दिनोस् । रसिलो पोषिलो तातो झोल, बेसारपानी, प्रोटिनयुक्त खाना, फलपूmल खानोस् ।

फ्रिजमा राखेको चिसो केही पनि सेवन नगर्नोस् । रक्सी, चुरोट त छँुदै नछुनोस् । बस यति गरेपछि तपार्इंले पनि मैले जस्तै सजिलै कोरोनालाई परास्त गर्नु हुन्छ ।

कोरोना जितिसके पनि मलाई जिज्ञासा रह्यो, ‘जति सचेत हुँदा हुँदै पनि कोरोना कसरी शरीरमा प्रवेश गर्छ होला ?’ मैले अझै बुझ्न सकिरहेको छैन । म घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउँथेँ ।

सेनिटाइजर र पन्जाको प्रयोग गर्थेँ । साथीभाइहरुसँग सामाजिक भौतिकदुरी गरी बस्थँे । औपचारिक कार्यक्रममा जान्थिनँ ।

तै पनि कतिपय जिम्मेवारी कामका कारणले जानै पर्ने सामान्य क्रियाकलापमा सहभागी हुन जाँदा मेरो शरीरमा पनि कुन बेला कोरोना भाइरसले डेरा जमाइसकेको रहेछ थाहा नै भएन ।

सामान्य शरीर दुख्ने,ढाड दुख्ने,छाती दुख्ने जस्ता लक्षण देखा परेको थियो । त्यसपछि पत्रकार भाइ अमृत सुवेदीको फेसबुक स्टाटससँग मेरो पनि केही लक्षण मेल खान पुग्यो ।

उनलाई कोरोना संक्रमण भएको जानकारी फेसबुक स्टाटबाट त्यसै दिन थाहा भएको थियो ।

अनि मैले पनि स्वाब दिने निर्णयमा पुगँे । पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई फोन गरेर सबै कुरा भनँे र दोस्रो दिन स्वाब दिने कुरा भयो । असोज २१ गते बुधबार स्वाब दिएँ र रिजल्ट कुरी बसेँ ।

अन्तत शुक्रबार २३ गते बेलुका फोन आयो रिपोर्ट पोजिटिभ । अब बल्ल तनाव हुन थाल्यो । तनावको कारण त्यही २४वर्षअघि गरेको मेरो ओपनहार्ट सर्जरी थियो ।

मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उच्च मनोबल बनाउन थप ऊर्जा दिनुभएको थियो । त्यतिनै बेला मीन गुरुङदाइको फोन आयो र मलाई औषधीहरु खान र डा बुद्धिबहादुर थापालाई कल गर्न सुझाव दिनुभयो । डा. थापाको सुझावमा औषधी खान सुरु गरेँ ।

कोरोना संक्रमण हुनु भनेको ठूलै अपराध गरे जस्तो व्यवहार समाजमा संक्रमितले भोगिरहेका छन् । यसो गर्नु भनेको झन् कारोना संक्रमण फैलन थप मलजल गर्ने व्यवहार हो ।

त्यसैले कोरोना संक्रमितलाई हेला नगरौं, ऊर्जा दिउँ । कोरोना संक्रमित खुल्दा अरुलाई संक्रमण हुने क्रम रोकिन्छ । त्यसैले मैले कोरोना संक्रमण पुष्टि भएकै दिन सार्वजनिक गरेँ । मेरो सम्पर्कमा रहनुभएका साथी, भाइ, इष्टमित्र सचेत हुन सजिलो भयो ।

सबैजनाको सल्लाह सुझावले घरमै आइसोलेसन बसेको थिएँ । यसरी आइसोलेसनमा बस्दाका दिनहरु तनाव र रमाइलोको मिश्रण रहयो । यसरी १० दिन काटियो र फेरि स्वाब दिने निर्णय गरेँ कारण मलाई कुनै पनि लक्षण थिएन । तर रिजल्ट फेरि पोजिटिभ आयो ।

कात्तिकको ५ गते वडा कार्यालय वडा नं १२ बाट फोन आयो र स्वाब दिनमालेपाटन जानुपर्ने भयो र गएर दिएँ। फेरि रिपोर्टको पर्खाइमा दिनहरु काट्न थालेँ । अब त रिपोर्ट नेगेटिभ आउँछ भन्ने विश्वास थियो । विश्वास अनुसार नै २५ औं दिन जानकारी आयो, रिपोर्ट नेगेटिभ छ । मैले २५ औं दिनमा कोरोना जित्न सफल भएँ ।

कात्तिकको ५ गते दिएको स्वाबको रिपोर्ट बल्ल १४ गते शुक्रबार नेगेटिभ आयो । यो १० दिनसम्म पुरै तनावमा दिन रातहरु बिताएँ। रोगले भन्दा पनि तनावले ज्यान लाने हो कि जस्तो लाग्ने।

समयमा रिजल्ट नआउँदाको त्यो क्षण ऊफ जिन्दगी ! धेरैभन्दा धेरैले कोरोना जितिरहेका छन् भने मैले पनि कोरोनालाई जित्छु भन्ने पक्का थियो । मैले हार्नुपर्ने कुनै कारण थिएन । मरिन्न भन्ने ढुक्क थियो । तर, पनि यो बीचमा खेपेका मानसिक असरहरु थुप्रै छन् ।

सामाजिक दुव्र्यहार र अपहेलना अझै जित्नै बाँकी नै छ । विशेष धन्यवाद यो बीचमा सहयोग, हौसला र माया गर्नुहुने थुप्रैजना हुनुहुन्छ । मेरा प्रिय, आत्मीय र सहृदयी असली आफन्तहरुको नाम गाढा अक्षरले हृदयमा कुँदिएका छन् ।

तपाईंहरुको शुभेच्छा, हौसला र प्रेमले निको हुन धेरै ऊर्जा थपियो । सबै सबैमा हार्दिक आभारी र कृतज्ञ छु । यहाँहरुले गर्नु भएको सहयोग जिन्दगीभर भुल्ने छैन ।

अब छिट्टै फोटोपत्रकारिताकै मैदानमा हाम्रो भेट हुनेछ । धन्यवाद । अब म प्लाज्मा दान गर्नेछु । मेरो रगत कसैका निम्ति काम लागोस् ।

तपाईको प्रतिक्रिया