पोखरामा कोभिड संक्रमण बढ्दो, रगत अभाव चुलिँदो

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १६:०६

रेडक्रसकर्मीमा कोरोना संक्रमण देखिएपछि रक्तदान कार्यक्रम हुन सकेको छैन

अनिष भट्टराई, पोखरा

पोखरा १७ की धनमाया गुरुङको शुक्रबार बेलुका ६ बजे फिस्टेल अस्पतालमा शल्यक्रिया गरियो ।

Advertisement

७४ वर्षीया उनलाई कात्तिक ३ देखि नसा खुम्चिएर दिमागमा समस्या परेपछि शल्यक्रिया गर्नुपरेको थियो ।

शल्यक्रियापछि धनमायाका छोरा चेतबहादुर गुरुङलाई अस्पतालले ताजा रगतको खोजी गर्न भन्यो । अस्पतालमा रगत थिएन, उनी रक्त सञ्चार केन्द्र (ब्लड बैंक) पुगे ।

Advertisement

केन्द्रमा ताजा रगतको अभाव रहेको भन्दै केन्द्रका कर्मचारीले चेतबहादुरलाई नै रगत खोज्न भने ।

रक्तदाता नपाएपछि शनिबार मध्याह्न १२ बजेदेखि चेतबहादुरले रक्तदाताको खोजीमा लागे ।

उनले आफ्ना छिमेकीलाई फोन गरे । कोहीले अस्पताल आउन झन्झट माने, कोहीले कोरोनाको डर । रक्तसमूह मिलेका केही वृद्धले कोरोनाका डरका कारण रगत दिन आउन मानेनन् ।

रक्तदानको कार्यक्रम गरिरहने लायन्स क्लबलाई पनि सम्पर्क गरे । तर त्यहाँबाट पनि सोचेजस्तो जवाफ पाएनन् ।

चेतबहादुरले पछि आफ्ना टोलका केही युवासँग समस्या सुनाए । युवा समूहका केही युवाले आएर रगत दिन सक्ने बताएपछि भने उनको समस्या ट¥यो । त्यसबीच अस्पतालले रगत माग्दै उनलाई फोन गरिरह्यो । उनले दिउँसो ४ बजेसम्म रगत संकलनका लागि कुर्नुप¥यो ।

अहिले पोखरामा ‘ए–बी पोजेटिभ’, ताजा रगत तथा ‘प्लेटलेट रिच प्लाज्मा’ युक्त रगत अभाव भएपछि धनमाया जस्ता केही बिरामी समस्यामा छन् ।

रक्त सञ्चार केन्द्र पोखरामा अहिले पोजेटिभ समूहका रगतको मौज्दात रहेपनि नेगेगिटभ समूहको रगत अभाव रहेको केन्द्रकी मेडिकल टेक्नोलोजिस्ट सुनीता लम्सालले जानकारी दिइन् ।

‘हामीसँग अहिले फ्रेस ब्लडको माग बढी आउँछ, तर पिआरपी युक्त रगत र नेगेगिटभ समूहका रगत अभाव छ ।’ लम्सालले भनिन् ।

केन्द्रमा आउने मागका लागि अहिले केन्द्र्रले रक्तदाता खोज्दै व्यवस्थापन गरिरहेको छ ।

पहिले केन्द्रबाट दिनहुँ १०० पिन्ट रगत बाहिर पठाइन्थ्यो । अहिले ६० पिन्ट रगत दिनहुँ बाहिर पठाइएको सुवेदीले बताइन् ।

अहिले दसैंको बेला रक्तदानका कार्यक्रम नभएको र कोभिडले रक्तदाताको मानसिकतामा परिवर्तन ल्याएकाले रगत अभाव भएको लम्सालको जिकिर छ ।

रक्तदानका लागि स्वतस्फूर्त गठन भएको संस्था रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष जितेन्द्रमान शाक्यसमेत कोभिडले दाताको मनोबल घटेको बताउँछन् ।

‘रक्तदानमा गएपछि सिरिन्ज लगाउँदा, बस्दा अरु व्यक्तिसँग सम्पर्क हुन्छ, यसले कोरोना संक्रमण हुने डर दातामा भएकाले रगत संकलनमा केही कमी आएको छ,’ शाक्यले भने । प्रदेशमा हालसम्म ७ हजार ५ सय ६८ जनामा संक्रमण देखिएको छ भने ४ हजार २ सय २१ जना निको भएका छन् ।

‘१९ गतेबाट रगत संकलन गर्छौं’

जिल्ला रेडक्रस समिति, कास्कीका सदस्य बालकृष्ण शर्मा १९ कात्तिकबाट रगत संकलन गरिने बताउँछन् ।

कात्तिक ५ गते आफूहरुले रगत संकलन गरेपनि अहिले रेडक्रसका केही पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि कार्यक्रम गर्न नपाएको शर्माले बताए ।

पहिलेका वर्षभन्दा यस वर्ष दसैंमा रगत अभाव हुन नदिन आफूहरुले व्यवस्था गरेपनि कर्मचारी र पदाधिकारीमा कोरोना देखिएपछि रगत अभाव भएको उनको तर्क छ ।

ब्लड बैंकका कर्मचारी पनि आइसोलेसनमा रहेकाले रगत संकलनका लागि बाहिर जान नसकिएको बताए ।

‘रगत संकलनका लागि जाने मोबाइल भ्यानका ड्राइभर नै संक्रमित छन्,’ उनले भने, ‘भएका जनशक्तिको प्रयोग गरी १९ गतेबाट रगत संकलन गर्ने योजना छ,’ शर्माले भने ।

तपाईको प्रतिक्रिया