महानगरले सिटी लाइब्रेरी बनाउने

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १७:०५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरले नगर पुस्तकालय (सिटी लाइब्रेरी)को अवधारणाको विकास गर्न लागेको बताएका छन् ।

मासबार आमा समूह पोखरा ७ ले रजत जयन्तीको अवसरमा प्रकाशन गरेको स्मारिकाको शनिबार विमोचन गर्दै मेयर जिसीले इलाइब्रेरी रुपमा डिजिटल प्रविधिमा जाने या परम्परागत पुस्तकालय खोल्ने बारेमा निर्णय भइनसकेको उल्लेख गरे ।

Advertisement

उनले ठूला सहरहरुमा घुम्न जानेले पुस्तकालय गएर अध्ययन गरेर नगरको समग्र अवस्था थाहा पाउने प्रचलन रहेको उल्लेख गरे ।

‘सामाजिक संघ संस्थाले पुस्तक स्मारिका प्रकाशन गर्दा शिक्षा स्वास्थ्य पर्यटन विकास निर्माण सबै गतिविधिलाई समेट्नु पर्छ,’ मेयर जिसीले भने, ‘समग्र गतिविधिहरु प्रकाशनहरुमा आए पोखराको प्रवद्र्धनमा सहयोग पुग्ने छ ।’

Advertisement

फरक प्रसंगमा मेयर जिसीले पर्यटकीय क्षेत्र लेकसाइडसँग जोडिएको वडा नम्बर ७को सडकको सुन्दरताको काम भइ रहेको बताए ।

उनले सडकको स्तरोन्नत्ति तथा भौतिक पूर्वाधारको विकासमा महानगरले ध्यान दिने उल्लेख गरे ।

महिलाको नेतृत्व तथा उद्यमशीलताको विकासमा ध्यान दिन सुझाव दिँदै उनले सडक सरसफाई, सौन्दर्यीकरण लगायत सबैले देख्ने नमूना काम गर्न आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालले जुवातास, जाँडरक्सी नियन्त्रणदेखि विकृति विसंगति न्यूनीकरणका आमा समूहहरुको योगदान रहेको बताए ।

पोखरा महानगरपालिका सहकारी समितिका संयोजक तेजनारायण अधिकारीले महिला सशक्तीकरण, सामाजिक सचेतनादेखि विकास निर्माणमा महिला समूहले अगुवाई गरेको उल्लेख गरे ।

मासबार आमा समूहका अध्यक्ष टीकादेवी अधिकारीले समूहले रजत जयन्ती वर्षमा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्ने जानकारी दिइन् ।

पृथ्वी नारायण क्याम्पसका राजनीतिशास्त्र विभागका प्रमुख डा. उमनाथ बरालले स्मारिकाको समीक्षा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस वडा इकाई सभापति नवीनराज बराल, वडा सदस्य प्रभा पन्त, आमा समूहका उपाध्यक्ष कृष्णकुमारी बराल, सचिव शारदा गिरी, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, महिला विकासका लागि आमा समूहका अध्यक्ष मेनुका बराल, रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया