कोरोना संक्रमित बढेसँगै बेनीमा सचेतनामूलक अभियान

समाधान संवाददाता २०७७ कार्तिक १७ गते ९:०७

राकेश शर्मा, म्याग्दी

म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै बेनीमा संक्रमणबाट जोगिन सचेतनामूलक अभियान चलाइएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले स्वाब दिएर समुदायमा घुलमिल हुँदा संक्रमित बढेपछि एकसाता अतिआवश्यक वाहेकको सेवा बन्दगरी आइतबारदेखि अभियान थालिएको हो ।

Advertisement

जिल्ला संकट व्यवस्थापन समिति, बेनी नगरपालिका र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा र्‍याली निकालेर घरबाहिर ननिस्कन, संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको थियो ।

सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न, लक्षण देखिएका लागि स्वाब दिन अनुरोध गर्दै टोलीले घरदैलो गरेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समुदायस्तरमै कोरोना फैलनबाट रोक्न, भिडभाड हुने सरकारी निकायको सेवाप्रवाहलाई एकहप्ता स्थगन गरेर सचेतना कार्यक्रम गरेको बताए ।

उनले बाहिरी जिल्लाबाट आउनेहरुबाटै जोखिम बढेपछि समुदायमा अपरिचित वा बाहिरबाट आएकालाई निगरानी गर्न टोलटोलमा स्वयंसेवक समेत खटाउने गरी स्थानीयतहसँग सहकार्य गरिएको जानकारी दिए ।

पछिल्लो समय बेनी बजारमा रुघा, खोकी लगायत स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको स्वाब संकलन गरी पिसिआर परीक्षणको क्रममा लक्षण सहितका संक्रमति भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया