अस्फाल्ट प्रविधिको पिच धमाधम

समाधान संवाददाता २०७७ कार्तिक १७ गते १६:३९

‘२४ घन्टामा खाल्डा पुर्छु भनेको पुरिएन भनेर धेरै गाली खाएँ,’ मेयर जिसीले भने, ‘२४ वर्ष टिक्ने सडक बनाउँछु भनेको त्यस्तो प्रविधि हुँदोरहेनछ, अस्फाल्ट पिच गरेपछि ८, १० वर्ष टिक्छ भन्ने छ ।’

समाधान संवाददाता, पोखरा

सडकका खाल्डा २४ घन्टाभित्रै पुर्नेसहितका मुद्दा उठाएर चुनाव जितेका थिए पोखराका मेयर मानबहादुर जिसीले । उनले चुनाव जितेर आइसके पनि यसबीचमा पोखराका सडकमा हजारौं खाल्डा परिरहे ।

Advertisement

तर टालटुलमात्रै भयो । बर्खायाममा त झन् आज पुरेको खाल्डो भोलिपल्टै भत्कियो । धेरै पानी पर्ने यो सहरका सडक दुरुस्त भएनन् ।

त्यही समस्या सम्बोधन गर्न पोखरा महानगरपालिकाले मुख्य सडकहरुमा अमेरिकी प्रविधिको पिच गर्न थालेको छ ।

Advertisement

‘२४ घन्टामा खाल्डा पुर्छु भनेको पुरिएन भनेर धेरै गाली खाएँ,’ मेयर जिसीले भने, ‘२४ वर्ष टिक्ने सडक बनाउँछु भनेको त्यस्तो प्रविधि हुँदोरहेनछ, अस्फाल्ट पिच गरेपछि ८÷१० वर्ष टिक्छ भन्ने छ ।’

महानगरपालिकाको कार्यालय नै रहेको नयाँ सडकबाट अस्फाल्ट पिचको काम सोमबारदेखि धमाधम भइरहेको छ ।

यसको औपचारिक सुरुआत भने दसैंअघि भएको थियो । दसैं सकिएपछि सोमबारबाट कामले गति लिएको हो ।

नयाँ सडकसँगै महानगरपालिकाले मुस्ताङ चोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, बुद्धचोक, रानीपौवा, वन क्याम्पस र महेन्द्रगुफासम्मका सडकमा अस्फाल्ट पिच गर्ने जानकारी मेयर जिसीले दिए ।

उनका अनुसार पस्र्याङ—सिद्धार्थचोक, चिप्लेढुंगा—महेन्द्रपुलसम्म, बगर, दीप, रानीपौवा र अमरसिंह चोकसम्मको सडक अस्फाल्ट प्रविधिको बन्नेछ ।

मेयर जिसीले यो वर्ष २५ किलोमिटर सडक अस्फाल्ट पिच हुने जानकारी पनि दिए ।

महँगो प्रविधिको यो कामका लागि महानगरपालिकाले २० करोड रुपैयाँ बजेट स्टिमेट गरेको थियो । तर ठेक्का भने १७ करोड रुपैयाँमा लागेको छ ।

अस्फाल्ट प्रविधि पिच गर्ने भनेर २ पटक टेन्डर आह्वान गर्दा पनि कसैबाट टेन्डर नपरेको मेयर जिसीले सुनाए ।

‘पहिला यहाँका ठेकेदार कम्पनीहरुसँग अस्फाल्टका लागि चाहिने उपकरण लगायत प्रविधि रहेनछ,’ उनले भने, ‘अहिले त अस्फाल्ट प्लान्टहरु आइसकेका छन् ।’

यहाँका निर्माण कम्पनीहरु अस्फाल्ट प्रविधिमा राम्रो देखिए भने महानगरपालिकाका भित्री सडकमा पनि यही प्रविधिको पिच गर्ने पनि मेयर जिसीले सुनाए ।

अस्फाल्ट पिचको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

कम्पनीका पोखरास्थित कन्ट्याक्ट म्यानेजर राजु रानाभाटका अनुसार न्युरोडको पिच एक सातामा सक्ने योजना छ । उनले त्यसपछि पालिखेचोकबाट केआइसिंह पुलतिरको काम गर्ने सुनाए ।

‘महेन्द्रपुलबाट रानीपौवा हुँदै अमरसिंहचोकसम्मको कामलाई केही समय लाग्ला,’ उनले भने, ‘त्यता खानेपानीको काम भइरहेको छ, त्यो सकिएपछि हामी पिच गर्छाैं ।’

अस्फाल्ट प्रविधि अनुसार अहिले रहेकै पिचमाथि ४ सेन्टिमिटर पिच थपेर सडक बाक्लो बनाइएको छ ।

पिच गर्न मेसिनको प्रयोग भएको छ । उपकरणबाटै अलकत्रसँग पकाइएको सामग्री सडकमा बिच्छ्याइएको छ ।

यो प्रविधिबाट पिच गर्न मानव संसाधन पनि कम प्रयोग भएको छ । अस्फाल्ट प्रविधिको पिच सडक ८ देखि १० वर्षसम्म टिक्ने प्राविधिक बताउँछन् ।

सीमित उपकरणहरुका कारण सबैतिर एकैपटक काम गर्न नसकिएको रानाभाटले सुनाए ।

नयाँसडकको काम सकेर पालिखेचोकबाट दीपसम्म पिच गरेपछि मुस्ताङचोकदेखि हल्लनचोकसम्मको काम सुरु गर्ने जानकारी उनले दिए ।

महानगरपालिका र प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयसँग एलाइट कम्पनीले गत आवमा ठेक्का सम्झौता गरेको थियो ।

रानाभाटकै अनुसार ठेक्काको म्याद आउँदो सन् २०२१ को मार्च महिनासम्म छ ।

अस्फाल्ट प्रविधिमा गिटी अलकत्रा पकाउने र बिच्छयाउनेसम्मको काम उच्चप्रविधिबाट हुने जानकारी रानाभाटले दिए ।

उनका अनुसार अलकत्रा पकाउँदा वातावरण प्रदूषित नहुने उपकरणसहितको प्लान्ट कम्पनीले धम्पुस फेदी घट्टेखोला नजिकै स्थापना गरेको छ ।

उक्त कम्पनीले याम्दीदेखि घट्टेखोलासम्म मध्यपहाडी राजमार्ग खण्ड पनि अस्फाल्ट प्रविधिकै पिच गर्ने ठेक्का पाएको छ ।

‘बिजुलीका तारहरु नहटाइदिएर यतिका समय लाग्यो,’ उनले भने, ‘अब हेम्जातिरको काम पनि हुन्छ ।’

पोखरामै जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको सडक यसअघि नै अस्फाल्ट पिच भइसकेको छ ।

मुग्लिङ नारायणगढ सडकको पिच पनि अस्फाल्ट प्रविधिको भएको रानाभाटले जानकारी दिए ।

तपाईको प्रतिक्रिया