विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ११:३७

रासस

देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।

विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।

Advertisement

गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन्।

दुबई र कतारमा गरी ५ वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताए ।

Advertisement

रानाले भने, ‘विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।’

गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गर्नुभएका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् ।

अघिल्लो वर्ष ६ रोपनी जमिनमा लगाएको अदुवाखेतीबाट रु २ लाख आम्दानी भएको बताउँदै रानाले भने, ‘यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।’

३० रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क छन् ।

गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती ग्रेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गरेका हुन् ।

गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताए ।

नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए ।

अदुवासँगसँगै बाख्रापालनसमेत गर्नुभएका उनले रु ३०–४० हजार कमाउनका लागि विदेशिन नपर्ने बताए ।

तपाईको प्रतिक्रिया