पदमार्गले जोडिँदै घोरेपानी
रासस
पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो ।
नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।
निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ ।
अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ ।
देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ ।
अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उनले बताए।
‘प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ,’ उनले भने, ‘सङ्घ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।’
पदमार्गमा झण्डै रु साढे २ करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।
अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हँुदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ ।
जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए। थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन ।
पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।
विभिन्न प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उनले बताए।
तपाईको प्रतिक्रिया