कास्कीमा आइसोलेसन भरिदैँ, गण्डकीका अन्य जिल्लामा खाली

अनिष भट्टराई, पोखरा
पोखरा १५ की ७८ वर्षीया महिला निमोनिया भएपछि फिस्टेल अस्पतालमा उपचारका लागि गइन् ।
उनमा उपचारका क्रममा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भयो ।
कोरोना पुष्टि भएपछि अस्पतालले राख्न नमानेको भन्दै उनका आफन्तले सोही दिन चरक मेमोरियल अस्पताल लगे ।
अस्पतालमा लगेपछि पैसा जम्मा गरे । पैसा जम्मा गरेपनि उनलाई भेन्टिलेटरमा राख्न अस्पतालले आनाकानी ग¥यो ।
अस्पतालमा भर्ना भएकी ती महिलाको भोलिपल्ट राति ११ बजे अस्पतालमा उपचारका क्रममा निधन भयो ।
ती महिलामा कोरोना पुष्टि भएपछि घरका अन्य सदस्यको परीक्षण गर्दा उनका ८१ वर्षीय पतिमा पनि कात्तिक १२ गते कोरोना पुष्टि भयो ।
ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको २ दिन पछि उनको होम आइसोलेसनमै मृत्यु भयो ।
दीर्घरोगी रहेका उनलाई पनि आफन्तले अस्पताल भर्ना गर्न चाहेका थिए । तर पत्निमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको व्यवहार देखेर अस्पताल लगेनन् ।
आफन्तले पैसाको समस्याले भन्दा पनि अस्पतालले देखाउने व्यवहारका कारण अस्पताल नलगेको बताउँछन् ।
‘चरकमा भर्ना गर्न पैसा ति¥यौं, पैसा तिरेपनि भेन्टिलेटरमा राख्न गाह्रो मानिरहे, त्यो व्यवहारले गर्दा उहाँ (८१ वर्षीय पुरुष संक्रमित)लाई लगेनौं,’ मृतकका आफन्त पर्नेले भने ।
अस्पतालमा गाह्रो परेर लगेका बेला अस्पतालले सोचे जस्तो व्यवहार नगर्दा संक्रमित बनेका पुरुषलाई योजनाबद्ध रुपमै अस्पताल नलगिएको ती आफन्तको भनाइ छ ।
‘दीर्घरोगी हुनुहुन्थ्यो, घरमै ख्याल राख्ने सल्लाह ग¥यौं,’ उनले भने, ‘अस्पतालमा गाह्रो नपरी कोही जाँदैन, पैसा तिर्दा पनि राम्रो व्यवहार भएन ।’
मृत्यु पछिको शव व्यवस्थापन प्रक्रियाले समेत परिवारलाई अर्को समस्या थपिदियो ।
९ गते राति ११ बजे मृत्यु भएकी ती महिलाको शव १८ घन्टा पछिमात्रै व्यवस्थित गरियो ।
दसंैको दिन बेलुका ५ बजे मात्रै शवलाई व्यवस्थापनका लागि लगियो । ‘शव व्यवस्थापन प्रक्रिया कमजोर देखें, दसैंको दिन एउटा ड्राइभर नभएको भन्दै शवलाई ५ बजेसम्म त्यसै राखियो,’ मृतकका आफन्तले भने । भनेको बेलामा आइसोलेसन नपाएको र कोभिड भन्ने बित्तिकै अस्पतालले राख्न नखोज्दा प्रदेशमा भयावह अवस्था आउने उनी बताउँछन् ।
असोक मसान्तमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ रहेको गण्डकी प्रदेशमा अहिले ७ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । ४२.५ प्रतिशतको हिसाबले कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना देखिएको जिल्ला कास्कीमा झन् कोरोना संक्रमितको संख्या आकासिएको छ ।
असोज मसान्तसम्म १ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको कास्कीमा सोमबारसम्म २ हजार ७ सय २२ जना संक्रमित छन् ।
कास्कीमा संक्रमणको दर उकालो लाग्दा आइसोलेसन अभाव र निजी अस्पतालको चर्को शुल्कले संक्रमित घरमै बस्न बाध्य छन् ।
पोखरामा आइसोलेसन सेन्टर भरिँदै छन् । सोमबारसम्मको तथ्यांक हेर्दा पोखरा महानगरमा रहेका ३ आइसोलेसनमा ११ बेड मात्र खालि छन् ।
पोखरा महानगरमा स्वास्थय विज्ञान प्रतिष्ठानमा ४० बेड, सरुवा रोग अस्पतालमा ४८ बेड तथा कृषि तालिम केन्द्र मालेपाटनमा ४२ गरी १ सय ३० बेडको आइसोलन सेन्टर छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ३० संक्रमित छन् । सरुवा रोग अस्पतालमा ४७ संक्रमित र ४२ बेडको कृषि तालिम केन्द्रको आइसोलेसनमा ४८ जना संक्रमित छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार कास्कीमा आइसोलेसनमा बेड संख्या १ सय ४१ छ ।
पोखरा महानगरले भरतपोखरीमा ५० बेडको आइसोलेसन थप गरेको छ । तर आइसोलेसन सेन्टरको अभावमा आइतबार बेलुकासम्म १ हजार ३२ संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
लक्षण नदेखिएका बिरामी, मध्यम लक्षण भएका बिरामी र घरमै बस्न इच्छा गर्नेलाई होम आइसोलेसनमा राख्ने व्यवस्था छ । तर पोखरामा कति संक्रमित डेरामा बस्छन्, सुविधा कति पुगेको छ÷छैन भन्ने जानकारी महानगर र जिल्ला स्वास्थ्य कार्यालयलाई नै छैन ।
कास्कीमा आइसोलेसन नपाएर बाध्यताले होम आइसोलेसनमा बस्दा प्रदेशका अन्य जिल्लामा भने आइसोलेसन खाली प्राय छन् ।
अन्य जिल्लामा आइसोलेसनमा बस्नेभन्दा आफ्नै रुचिले होम आइसोलेसनमा बस्ने गरेका छन् ।
स्याङ्जामा ७ वटा आइसोलेसन सेन्टर छन् । २ सय ३२ बेडका ती आइसोलेसनमा अहिले केबल ३७ जना बसेका छन् । १४ संक्रमित होम आइसोलेसनमा छन् ।
तनहुँमा रहेका ७ आइसोलेसन सेन्टरमा अहिले ७८ संक्रमित छन् । १ सय ५८ बेडका ती आइसोलेसन खाली जस्तै रहँदा जिल्लाका २ सय १४ संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
म्याग्दीमा रहेका १ सय ५ बेडका आइसोलेसनमा केबल २४ जना छन् । १६ जना होम आइसोलेसनमा छन् ।
नवलपरासीमा आइसोलेसन सेन्टरमा बस्नेको तुलनामा होम आइसोलेसनमा बस्नेको संख्या अत्याधिक छ ।
१७ जना आइसोलेसन सेन्टरमा बस्दा ४ सय २६ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । नवलपरासीमा ५ आइसोलेसन सेन्टरमा २ सय ७२ बेड रहेको छ ।
पर्वतमा २६ जना होम आइसोलेसन र ७ जना आइसोलेसन सेन्टरमा छन् । पर्वतमा अहिले १ सय २८ बेडको अस्थाई कोरोना अस्पतालका नाममा आइसोलेसन चलाइएको छ ।
बागलुङमा १ सय ११ बेड क्षमताको आइसोलेसन रहेपनि ११ जना मात्रै आइसोलेसन सेन्टरमा छन् । ३६ जना घरमै बसेका छन् ।
लमजुङमा ३ जना आइसोलेसन सेन्टर र ३१ जना होम आइसोलेसनमा बसेका छन् । त्यहाँ १ सय ५० बेडको आइसोलेसन सञ्चालित छ ।
गोरखामा १ सय २१ बेडको आइसोलेसन रहेपनि २ संक्रमित मात्रै आइसोलेसनमा छन् । मनाङ र मुस्ताङका सबै आइसोलेसन खाली छन् ।
आइसियु–भेन्टिलेटर कति ?
प्रदेशमा आइसियु र भेन्टिलेटरको संख्या अहिलेको अवस्थालाई पर्याप्त छ ।
तर निजी अस्पतालमा आइसियु, भेन्टिलेटर खाली हुँदा सरकारी अस्पतालमा आइसियु भेन्टिलेटरको संख्या अझैपनि कम छ ।
प्रदेशभित्र ३ सरकारी अस्पतालमा २४ वटा आइसियु र १७ भेन्टिलेटर छन् । तीमध्ये ७ वटा मात्रै आइसियु र ९ भेन्टिलेटर मात्रै खाली छन् ।
कास्कीमा रहेको सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा मात्रै आइसियु खाली छन् ।
कास्कीको सरकारी अस्पतालमा खाली रहेका आइसियुको संख्या कम हुँदा निजी अस्पतालमा भने आइसियु बेड अत्याधिक मात्रामा खाली छन् ।
पोखराका १२ निजी अस्पतालमा ९३ वटा आइसियु र ३७ भेन्टिलेटर खाली छन् ।
फाइल फोटो
तपाईको प्रतिक्रिया