उपल्लो मुस्ताङमा सशस्त्रको बिओपी भवन शिलान्यास

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ११:११

एसके थकाली
जोमसोम

हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका—१ छोसेरको नेचुङमा बुधबार सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास भएको छ ।

बिओपी भवन लगायतको संरचना निर्माणको शिलान्यासका लागि नेपाल सरकार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल र शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण बस्नेत काठमाडौंबाट हेलिकोप्टर मार्फत बुधबार बिहान उत्तरी कोरलानाकाको नेचुङ पुगेका थिए ।

Advertisement

यस्तै पोखरास्थित मुक्तिनाथ बाहिनी ४ नम्बर का सशस्त्र प्रहरी बलका डिआइजी राजेन्द्र बस्नेत र जोमसोमस्थित गुल्मपति आनन्द थापा लगायतको टोली लोमान्थाङको नेचुङ पुगेको थियो ।
उत्तरी कोरलानाकाको सीमारक्षाका लागि स्थापना भएको बिओपी भवनको गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा उद्घाटन गरे ।

बिओपी भवन शिलन्यासपछि बोल्दै गृह सचिव महेश्वर न्यौपानेले नेपाल सरकारले उत्तर/दक्षिणतर्फका सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गर्ने उद्देश्य अनुसार मुस्ताङको उत्तरी कोरलानामा बिओपी स्थापना भएको बताए । उनले सीमावर्तीक्षेत्रमा सरकारको प्रत्यक्ष उपस्थितिले उत्तरी कोरलानाका खोल्न सहज हुने बताए ।

Advertisement

यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बिओपी स्थापनासँगै सुरु गरिएको पूर्वाधार तोकिएकै समयमा पूरा विश्वाश व्यक्त गरे । महानिरीक्षक खनालले सिमावर्ती क्षेत्रमा हुने सम्भावित अपराध नियन्त्रण,सिमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले बिओपी स्थापना गरेको बताए ।

महानिरीक्षक खनालले बिओपीका लागि जग्गा उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

सशस्त्र प्रहरी बलको नेचुङमा रहेको ३३ रोपनी क्षेत्रफलको जग्गामा निर्माण हुने बिओपी भवन निर्माणको लागत ५ करोड ६५ लाख रहेको र यसको सम्झौता अवधि ११ महिनाको रहेको गुल्मपति आनन्द थापाले जानकारी दिए ।

नेपाल सरकारले २०७३ साल वैशाखमा जिल्लास्थित ५ वटा कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउने अधिकार दिएपछि त्यहाँ सशस्त्रको बिओपी पूर्वाधार निर्माणको लागि ३३ रोपनी जग्गा प्राप्त भएको थियो । बिओपी पूर्वाधारका लागि जग्गा प्राप्त भएको ४ वर्षपछि अहिले सरकारले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

लोमान्थाङको छोसेरस्थित नेचुङमा गत जेठ महिनामा सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बिओपी ) स्थापना गरिएको थियो ।

पूर्वाधार बिनै स्थापना गरिएको बिओपिमा खटिने सुरक्षाकर्मीलाई अस्थायी रुपमा नेचुङ भन्सारको क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने गरी २० जना सुरक्षाकर्मी खटाइएको थियो ।

उत्तरी कोरलानाकामा सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपत व्यवस्थापन लगायतमा सहयोग पुग्ने गरी स्थापना गरिएको बिओपी स्थापनाको ६ महिनापछि त्यसलाई चाहिने पूर्वाधारका लागि भवन संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

यसअघि सरकारले मुस्ताङको उत्तरी कोरलानाका सञ्चालन गर्ने लक्ष्य अनुसार २०७३ सालमा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लंखुफाँटमा १२ सय ७१ रोपनी, भन्सारलाई १ सय ९ रोपनी, नेपाल प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो । उत्तरी कोरलानाको करिब १२ किमी यता नेचुङमा उपलब्ध भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरलानाकाको दशगजा क्षेत्रमा भन्सार लगायतका पूर्वाधार निर्माण गर्न पुनः १ हजार रोपनी जग्गा छुट्याइएको छ ।

यसअघि प्राप्त भएको लोमान्थाङको लंखुफाँटमा नेपाली सेनाको क्याम्प समेत स्थापना भइसकेको छ ।

तपाईको प्रतिक्रिया