अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग
अनुप आत्रेय, पोखरा
दक्षिण एसियामा चाउचाउ उद्योग थिएन । लाहुरेहरु घर फर्किंदा कोसेली ल्याउँथे ।
हङकङ, सिंगापुरका लाहुरेबाहेक अरुकहाँ सायदै पुग्थ्यो तयारी चाउचाउ ।
सानै उमेरदेखि निर्माण व्यवसायमा लागेका पोखराका सूर्यबहादुर केसी चाउचाउ खुब रुचाउँथे ।
उनै केसीसहित ४ साथी मिलेर २०३९ सालमा गण्डकी नुडल्सबाट उत्पादन थाले ।
पार्टनर कृष्ण आचार्य, फणिन्द्रमान श्रेष्ठ र सुशील गोशाली थिए ।
उद्योगले रारा तयारी चाउचाउ उत्पादन थाल्यो । समयसँगै कृष्ण र फणिन्द्रमान छुट्टिए ।
उनीहरुभन्दा पहिले सुशीलले छोडेका थिए । अरु सेयर सदस्यले पनि साथ छोड्दै गए ।
२०५८ सालसम्म आउँदा कम्पनीको सम्पूर्ण स्वामित्व सूर्यबहादुरले लिए ।
गण्डकी नुडल्स, एभरेस्ट नुडल्स हुँदै हिमश्री फुड्स प्रालि सूर्यबहादुरले एकल स्वामित्वमा ल्याए ।
चर्चित ब्रान्ड रारा चाउचाउ आउँदो माघ २३ गते ३८ वर्ष पुग्दै छ । तर दक्षिण एसियामा पहिलोपटक चाउचाउ उत्पादन गर्ने सूर्यबहादुरले त्यो खुसी साट्न पाउने छैनन् ।
उच्च रक्तचापबाट ग्रसित उनै केसी सोमबार धर्तीबाट बिदा भएका छन् ।
५ वर्ष पहिला मृगौला प्रत्यारोपण गरेका उनको पोखरा महानगरपालिका ७ स्थित निवासमा सोमबार राति साढे १० बजे निधन भएको हो ।
उद्योगीमात्रै होइन, उनी निर्माण व्यवसायी, राजनीतिकर्मी, समाजसेवी पनि हुन् ।
लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनी गत निर्वाचनताका कांग्रेस प्रवेश गरेका थिए ।
केसी राजनीतिकर्मीभन्दा पनि उद्योगी र समाजसेवीको रुपमा बढी परिचित छन् ।
चाउचाउ उद्योगमात्रै नभइ टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यु (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदीमर्दी हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालिमा उनको लगानी छ ।
त्यसबाहेक शैक्षिक र खेलकुद क्षेत्रमा पनि उनले योगदान दिएका छन् ।
उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल मेडिकल कलेज, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालकसमेत हुन् ।
सहारा क्लबले बर्सेनि पोखरामा गर्ने फुटबल प्रतियोगितामा उनकै उद्योग हिमश्री फुड्सले मुख्य साथ दिँदै आएको छ । रारा चाउचाउलाई ब्रान्डिङ गर्न प्रतियोगिताको नाम नै ‘आहा ! रारा गोल्डकप’ राखिएको छ ।
निर्माण व्यवसायी उनी माछापुच्छ्रे बैंकका संस्थापक हुन् । राजधानी काठमाडौं बाहिर क वर्गको वाणिज्य बैंक खोल्ने श्रेय उनैलाई जान्छ । माछापुच्छ्रे बैंक पोखरामा मुख्य कार्यालय रहनेगरी खुलेको थियो ।
…अनि खुल्यो चाउचाउ उद्योग
१६ वर्षको उमेरमा बुवा कीर्तिबहादुरको निर्माण व्यवसाय सम्हालेका उनी चाउचाउ उद्योग खोल्नतर्फ आकर्षित भए ।
कृष्ण, फणिन्द्र र सूर्यबहादुर मिलेर सिन्के चाउचाउ उद्योग खोल्ने निधो गरे । पछि सुशील गोशली मिसिए ।
उद्योग घाटामा गयो । त्यसपछि ४ जनाले अर्को निधो गरे – तयारी चाउचाउ उद्योग खोलौं ।
‘सिन्के चाउचाउ उद्योग उपयुक्त नलागेपछि तयारी चाउचाउ बनाउने सल्लाह भयो,’ कृष्ण ४ दशक पुरानो दिन सम्झन्छन्, ‘त्योबेला कोहीकोही हङकङबाट आएका लाहुरेले चाउचाउ ल्याउँथे । त्यो खाएपछि तयारी चाउचाउ नेपालीले मन पराउँछन् भन्ने भयो ।’
लगानी बढाउनुपर्ने भयो । जापानबाट मेसिन ल्याउनुपर्ने रहेछ । ४ जनालाई मात्रै आँट आएन । चारै जना लगानी जुटाउन लागे ।
तयारी चाउचाउ खाइराखेका लाहुरेहरु लगानी गर्न तयार भए । सबै गर्दा १५ लाख जुट्यो ।
त्यतिले चाउचाउ बनाउने मेसिन पनि नआउने भएपछि ऋण खोज्न लागीपरे । नेपाल औद्योगिक विकास निगम पुगे ।
निगमले पत्याएन । लगातार पछ्याएपछि निगमले ३५ लाख दियो । मेसिनलाई ३५ लाख प-यो । जापानबाट मेसिन ल्याए ।
उद्योगको संस्थापक अध्यक्ष फणिन्द्रमान श्रेष्ठ बने, प्रबन्ध निर्देशकचाहिँ कृष्ण आचार्य ।
‘हङकङ, सिंगापुर बस्ने चिनजानका लाहुरे साथीहरुलाई भन्यौं । उहाँहरु त्यस्तो चाउचाउ खाइरहेको भएर पनि लगानी गर्न तयार हुनुभयो । थप्दै जाँदा पछि ६५/७० जना पुग्यौं,’ कृष्णले सुनाए ।
अनैकौं बाधा झेल्दै खोलिएको उद्योगले चाउचाउ उत्पादन थाल्यो । रारा दक्षिण एसियाकै पहिलो चाउचाउ बन्यो । राराको उत्पादन थालिएको ६ महिनापछि भारतमा म्यागीको उत्पादन सुरु भयो ।
रारा चाउचाउले राम्रै बजार पायो । चाउचाउ भनेकै रारा भन्ने हुन थाल्यो । राराबाहेक अरु उत्पादन पनि बजार आउन थाले । तर रारा रुचाइयो । रारा चाउचाउको बजार अहिले पनि उत्तिकै छ ।
समयसँगै उद्योगमा लगानीकर्ताबीच मनमुटाव देखिन थाल्यो । फणिन्द्र उद्योगबाट बाहिरिए । पछि कृष्णले पनि छोडे । गर्दागर्दै अरु लगानीकर्ता पनि पछि हटे ।
चाउचाउसँगको प्रत्यक्ष सम्बन्धबाट टाढिएका कृष्ण आफूले सुरु गरेको उद्योगको सफलताप्रति निकै खुसी छन् ।
‘ब्रान्डिङ गर्न चोकचोकमा पकाएर खुवायौं । उद्योगबाट छुट्टिए पनि त्यो स्थापनाका लागि अनुमति लिनदेखि जापानबाट मेसिन ल्याउँदाका थुप्रै अनुभव छन्,’ उनी भन्छन्, ‘चाउचाउलाई पनि खाजा/खानाको रुपमा स्थापित गर्न सकियो ।’
कान्छा प्रधानपञ्चदेखि सांसदसम्म
केसी २ पटक पोखरा नगर पञ्चायतमा प्रधानपञ्च भए । २०४१ र २०४३ सालमा उनले नगर पञ्चायतको नेतृत्व गरेका थिए ।
२०४१ सालमा पोखरा नगर पञ्चायतको नेतृत्व गर्दा उनी २७ वर्षका थिए । २०४६ सालमा पञ्चायती व्यवस्था अन्त्य भयो ।
२०४६ साल चैतमा बहुदलीय व्यवस्था घोषणापछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भए ।
उनले राप्रपामा जिल्ला अध्यक्ष हुँदै पोखरा महाधिवेशनबाट पार्टीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी पाए ।
२०५१ सालमा प्रत्यक्षतर्फको चुनाव लडे पनि जितेनन् । एमालेका तुलबहादुर गुरुङ विजयी हुँदा उनी तेस्रो भएका थिए ।
२०६४ सालमा राप्रपाबाट संविधानसभा सदस्य बनेका उनी २०७४ सालमा कांग्रेस प्रवेश गरे । चुनावताका प्रवेश गरेका उनलाई कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा लगेको थियो ।
पछिल्लो समय राजनीतिमा खासै सक्रिय नरहेका उनलाई राप्रपा केन्द्र्रीय सदस्य रोमबहादुर भण्डारी विकासप्रेमी नेताका रुपमा चित्रण गर्छन् ।
‘कलिलै उमेरमा प्रधानपञ्च बन्नुभयो । पछि संविधानसभा सदस्य पनि हुनुभयो । उहाँ त विकासप्रेमी नै हो,’ उनी भन्छन्, ‘उहाँको योगदान अरु क्षेत्रमा पनि हामीले देखेकै छौं । पछिल्लोपटक चुनावमा हामीबाट छुट्टिनुभयो ।’
यो पनि
तपाईको प्रतिक्रिया