अलबिदा बालसखा सूर्य

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १९:००

विश्वशंकर पालिखे

२०२३ साल ताका पोखरामा नेपाली आर्दश विद्यालय स्थापना भएको थियो । तत्कालीन नेपाली आर्दश विद्यालय हालको गण्डकी आवासीय विद्यालय हो ।

सीताराम (सूर्यबहादुर केसी) सहित किरणलाल श्रेष्ठ, जीवननारायण श्रेष्ठ, नवीन द्वा, कृष्णमान माकाजु, राजेन्द्र पालिखे, दशरथमान बुद्धाचार्य, रञ्जन वैद्य, राजेन्द्र गौचन लगायतसहित म आफैं कक्षा २ मा भर्ना भएका थियौं ।

Advertisement

त्यहाँ आजको स्वरुपका घरहरु थिएनन् । खरको छाना, सेती नदीबाट ल्याएकोे गिट्टीको भुइँ थियो । यहिँबाट सुरुआत भएको थियो हाम्रो मित्रता ।

त्यतिबेला हाम्रो मार्था गुरुमा राज सर आदि हाम्रा शिक्षक थिए । हुनत हाम्रो पारिवारिक सम्बन्ध त्यसभन्दा अगाडिदेखि नै बाबा दयाशंकर पालिखे र काका कीर्तिबहादुर केसीकै पालादेखि निकट सम्बन्ध थियो ।

Advertisement

बोर्डिङ स्कुलको कडा अनुशासित नियमका अगाडि हामी लामो समयसम्म त्यहाँ अध्ययन गर्न सकेनौं ।

हामी केही साथीहरु तत्कालीन सोल्जर्स बोर्ड भोकेसनल हाइस्कुल (हालको अमरसिंह मावि) मा कक्षा ६ मा भर्ना भयौं ।

संयोगले सीताराम र म सँगै एउटै कक्षामा भर्ना हुन पनि पुग्यौं । हाइस्कुलको पढाइपश्चात हामी फेरि पृथ्वीनारायण कलेजमा समेत फरक–फरक विभागमा अध्ययन ग¥यौं ।

त्यो समयमा पोखरामा विरलै मात्रामा मोटर, मोटरसाइकलहरु चल्ने गर्थे । जसमा एउटा सूर्यको यामाहा इन्डुरो निलो रङको मोटरसाइकल थियो ।सूर्यलाई मोटरसाइकल उडाउने सोख पनि थियो ।

यसैक्रममा हाम्रो सम्बन्ध अझ प्रगाढ हुँदै गएको थियो । रगतको नाता नभए पनि सूर्यकोदिदी सीतार मेरो दिदी विद्या सहपाठी थिए।

सीतारामले मेरो जेठो दाजु गणेशमान पालिखेलाई र दाइ अशोक पालिखेलाई भिनाजु र भाइ कल्याण पालिखेलाई ज्वाइँ भन्थे ।

क्याम्पस पढ्दा पढदै उनी ठेक्कापट्टतिर लागे भने म पढ्नका लागि काठमाडौं लागें ।

२०४१ सालमा पोखरामा पोखरा नगर पञ्चायतको तर्फबाट प्रधानपञ्चको उम्मेदवार भई २६ वर्षकै कलिलो उमेरमा सूर्य प्रधानपञ्च भएका थिए ।

२०४३ सालतिर व्यावसायिक हिसाबले फेरि हाम्रो अर्को सम्बन्ध सुरुआत भयो । हामीले उनको र उनका भाइ भरत तथा शत्रुध्नको घरमा होटल ट्रागोपानको सुरुआात ग-यौं ।

होटलको सामान किन्न हामी भारतको दिल्लीसम्म सँगै गएका थियौं ।

तत्कालीन प्रधानपञ्च र एक अभिभावकको रुपमा मैले उनलाई पाएपछि मैले दाजुको रुपमा उनलाई स्वीकार गर्दै हरेक दसैंमा उनको हातबाट टीका थाप्दै आएको थिएँ ।

२०४६ सालदेखिनै सँधै हामी उनलाई नेपाली कांग्रेसमा आवद्ध हुनुपर्छ भन्दै आएका थियौं ।

२०७४ सालको निर्वाचनमा नेपाली कांगे्रस प्रवेशमा मैले एक मित्र र एक दाजुको हैसियतले उनलाई प्रवेश गराउन विशेष भूमिका निभाएको थिएँ । त्यसपछि त चुनावमा हामी सँगै हिँड्यौं ।

मलाई याद छउन्जेल उनको कान लामो थियो र बाल्यकालमा हामीलाई उ सुनाउने गथ्र्यो ‘मेरो भगवान बुद्धको जस्तो लामो कान छ, म भविष्यमा ठूलो मान्छे हुन्छु भनेर’ ।

साँच्चै नै तिमी महान भयौ, मेरो बालसखा । सबैको अभिभावक बन्यौ, सबैको केसी दाइ भयौ । आफ्नो जीवन सार्थक बनायौ । अलबिदा ! मेरा बालसखा, मेरो अभिभावक, दाजु सीताराम ।

यो पनि

कालको पदमा परेर फर्केका सूर्य

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

अवसरलाई फुत्कन नदिने सीताराम

अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

तपाईको प्रतिक्रिया