कालीगण्डकी करिडरकाे पहिराेमा ५ कामदारकाे मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक १९ गते २१:२२

पाेखरा

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेकाे अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

Advertisement

मृत्यु हुनेमा सबै बुलिङटार –४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लु‌गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन् ।

पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

Advertisement

पहिरामा परी दुई जना घाइते भएका छन् । २१ वर्षीय कृष्ण लु‌ंगेली र १९ वर्षीय केबलसिंह लु‌‌गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए ।

उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया