नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल

काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ।
प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा छलफल भएको थियो। ‘उहाँहरुबीच भेटवार्ता भएको छ। के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन,’ उनले भने।
पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। दुवै अध्यक्षले आ–आफ्नो गुटका भेला गर्दै आइरहेका छन्।
एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका बेला दुई अध्यक्षबीचको संवादले नै समस्या समाधान हुने भन्दै नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच भेट भएको हो।
गत शनिवारको भेटमा ओलीले ‘सहमतिमा नआउने हो भने अलग–अलग हिडौं’ भनेर प्रस्ताव गरेको प्रचण्डले आफूनिकटका नेताहरूलाई बताएका थिए ।
आफूसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफरिश तथा कर्णाली प्रदेशमा उत्पन्न विवादलाई लिएर प्रचण्ड असन्तुष्ट देखिएका थिए ।
आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग–अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।
आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले बुधवार एक कार्यक्रममा कुनै हालतमा राजीनामा नदिने बताएका थिए ।
फाइल तस्बिर
तपाईको प्रतिक्रिया