जनतालाई निराश नपार

समाधान संवाददाता २०७७ कार्तिक २१ गते ९:४३

सम्पादकीय

कोभिडको महामारी फैलिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र डरलाग्दो संक्रमण लागेको छ । हुन त उक्त पार्टीमा यो संक्रमण नौलो होइन ।

स्थानीय तहको चुनावमा आआफ्नै तरिकाले चुनाव लडेका नेकपा एमाले र माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा आएर गठवन्धन गरे ।

Advertisement

यो गठवन्धनले २ पार्टीलाई २ तिहाइमा पु-यायो । त्यति मात्र होइन एकताको शूत्रमा समेत बाँध्यो । प्रदेश सभा तथा प्रतिनिधि सभामा अगलअलग दलबाट प्रतिनिधित्व गर्नेहरु एउटै दलमा आबद्ध भए ।

कतिले पद गुमाए, कतिले पद पाए । पाउनु गुमाउनु एउटा कुरा थियो, यी २ दलको मिलतीले मुलुकलाई पनि फाइदा नै हुन्छ भन्ने एकथरिको आँकलन थियो ।

Advertisement

हुन त यो एकता दीर्घकालीन हुँदैन भन्नेहरु पनि नभएका होइनन् । लामो समयसम्म राजनीतिको रथ तानेका केपी शर्मा ओली र पुष्पकमल दाहालले मुलुकलाई पक्कै उन्नतिको पथमा डो-याउलान भन्ने झिनो आशामा अहिले आएर फेरि एकपटक शंका उब्जिएको छ ।

शीर्ष नेताहरुले एकअर्कालाई दोष लगाएर गालीगलोजको भाषा प्रयोग गरेर सतहमै उत्रेका छन् ।

प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वास गर्दैनन् ।

दाहाल पनि प्रधानमन्त्रीको गतिविधिबाट जहिल्यै पनि सशंकित छन् ।नेकपामा मत्थर भयो भनेको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावपछि फेरि चुलियो ।

भारतीय खुपिया एजेन्सी रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेपछि विवाद झनै चर्कियो ।

कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले पूर्व माओवादीहरुलाई जम्मा पारेर प्रधानमन्त्रीले अब पार्टी अलग भएर जानुपर्छ भन्ने आसय व्यक्त गरेको सार्वजनिक भइसकेको छ ।

विवाद मिलाउन गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्वय पृथ्वीसुब्बा गुरुङ र शंकर पोख्रेल केही समय काठमाडौं नै बसे ।

सक्छौ दल मिलाएर जाऊ, सक्दैनौं अलग भएर बस । जनतालाई निराश पार्ने काम बन्द गर ।

अहिले प्रदेशमै रहेका मुख्यमन्त्री गुरुङले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा प्रयोग भएका शब्दावलीले फेरि एकपटक तरंग ल्याइदिएको छ ।

केन्द्रमा देखिएको विवाद प्रदेशमा पनि छताछुल्ल भएको छ । पार्टी फुटे त्यसको अपजस प्रचण्डले लिनुपर्छ भन्ने आसयको अन्तर्वार्तापछि प्रदेश सभाका सदस्य दीपक कोइराला, रामजी बराल जीवन, नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले फेसबुक स्टाटस नै लेखेर मुख्यमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जाहेर गरे ।

तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने यी ३ नेताको अभिव्यक्तिपछि मुख्यमन्त्रीले ‘अनलाइनले आसय बिगारेर अन्तर्वार्ता प्रकाशन गरेको’ खालको प्रष्टीकरण दिएका छन् ।

केन्द्रको बारम्बार किचलो र प्रदेशमा पनि एकखालको ‘अभिव्यक्ति द्वन्द्व’ ले दल अब फुटको संघारमै पुगेको हो कि भन्ने अनुमान गर्न सजिलो भएको छ ।

मुलुकको हितका लागि राजनीतिक स्थिरता चाहिएको छ । पार्टी फुट्दा वा जुट्दा व्यक्ति विशेषलाई फाइदा वा घाटा पक्कै होला । अहिले व्यक्तिगत भन्दा पनि मुलुकको स्वार्थ अनुसार चल्ने बेला हो ।

शासन प्रणालीमात्र फेर्ने अनि दलहरुले शैली नफेर्ने गर्दा उत्कृष्ट भनिएको संघीयता पनि खतरामा पर्ने छ । प्रमुख प्रतिपक्षी दल पनि आन्तरिक किचलोबाट माथि उठ्न सकेको छैन ।

विकासको पथमा लम्किन नसकेको अवस्थामा कोरोनाले आर्थिक र सामाजिक रुपमा आक्रान्त पारेको छ । यो बेलामा नागरिक दलहरुबाट ढाडस चाहान्छन् ।

यहाँ त जनताका पीरमर्का सुन्ने कता हो उल्टै निरास बनाउने काम भइरहेको छ । दलका नेताहरुलाई थाहा छ नि नागरिकमा असन्तुष्टि चुलियो भने परिणाम के निस्किन्छ भनेर ?

सक्छौ दल मिलाएर जाऊ, सक्दैनौं अलग भएर बस । जनतालाई निराश पार्ने काम बन्द गर ।

तपाईको प्रतिक्रिया