अर्जुनचौपारीका गर्भवतीलाई मोबाइलबाटै स्वास्थ्य सेवा

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ६:४५

समाधान संवाददाता, स्याङ्जा

स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउन स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गर्भवती महिला र शिशुका लागि मेडिक मोबाइल स्वास्थ्य कार्यक्रम सुरु गरेको छ ।

घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य स्याहार गरेको पालिकाले स्वयंसेविका मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच कार्यक्रम सुरुवात गरेको गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताए ।

Advertisement

पालिकाले कार्यक्रमको लागि पहिलो चरणमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । ३ दिने प्रशिक्षणमा पालिकाका ५ स्वास्थ्य चौकीका १० जनाको सहभागिता छ ।

प्रशिक्षकले पालिकाका ३८ स्वयंसेविकाहरुलाई तालिम दिने अध्यक्ष अर्यालले जनाए । स्वयंसेविकाले मोबाइलबाट गर्भवती तथा नवजात शिशुको स्याहार गर्नेछन् ।

Advertisement

उपाध्यक्ष चिनमाया गुरुङले दक्षिण एसियामै मातृशिशु मृत्युदर बढी भएको अवस्थामा कार्यक्रमले सहयोग पुग्ने बताइन् । नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने कार्यक्रम सुरुवात हो ।

प्रविधिमा एकपटक गर्भवतीको नाम दर्ता भइसकेपछि उनीहरु जाचँका लागि स्वास्थ्य संस्था नगए तुरुन्त स्वयंसेविकाको मेडिक मोबाइलमा म्यासेज व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिए ।

स्वयंसेविकाले खबर गरेपश्चात पनि गर्भवती महिला स्वास्थ्य संस्थामा जाँच गर्न नगए तेश्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई जाने व्यवस्था मिलाइएको छ ।

उनले गर्भवती भएरपनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाई सहज हुने बताए ।

पालिकाले एक वर्ष पहिला मेडिक मोबाइल कार्यक्रमको तयारी गरेको जानकारी दिँदै उनले १५ दिनभित्र पालिकाका गर्भवती महिलाको तथ्यांक लिन टोल टोलमा पुग्ने उल्लेख गरे ।

पालिकाले प्रविधिमार्फत महिलाको नियमित परीक्षणका लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेकजाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार हुने अपेक्षा लिएको छ ।

तपाईको प्रतिक्रिया