७ वर्षसम्म १ तला पनि बनेन पञ्चासे धरहरा

समाधान संवाददाता २०७७ कार्तिक २२ गते ११:३०

समाधान संवाददाता, पोखरा

ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण पञ्चासेबाट चारैतिरमनमोहक दृश्यावलोकनका लागि टाकुरामा बनाइएको धरहराको निर्माण कार्य अलपत्र परेको छ ।

त्यहाँको धार्मिक आस्थाको केन्द्र सिद्धबाबाको मन्दिर झनै कमजोर र जीर्ण बनेको पञ्चासेक्षेत्र विकास समितिका अध्यक्ष दिलबहादुर भट्टराईले जानकारी दिए ।

पर्यटकीय गन्तव्य पञ्चासे टाकुराको ५ तलाको परिकल्पना गरी बनाउन लागेको धरहराको काम थालेको ७ वर्ष पुरा हुँदा पनि एक तला पनि बनेको छैन ।

पहिले बनेको दुईतले धरहरालाई अझ राम्रो बनाउने भनेर भत्काइएको छ । नेपाल सरकारबाट ५० लाखको बजेट परेपछि बनाउन थालिएको धरहराको निर्माणकार्य अहिले अलपत्र छ ।

‘धरहरा निर्माण कार्य आंशिक रुपमा सुरुवात गरेर अलपत्र छाडिएको ७ वर्ष पूरा भएको छ,’ अध्यक्ष भट्टराईले भने, ‘नेपाल सरकारले काम थालेर लथालिंग बनेको संरचनाको बनाउने जिम्मा कसले लिने हो ।’

उनले केन्द्रीय बजेटबाट बनाउन लागेको धरहराको निर्माणका जिम्मा पुष्केश्वर महादेव कन्स्ट्रक्सन कम्पनीले लिएको थियो । समयमै काम नगरेर अलपत्र पारेको निर्माण कम्पनीले सरकारले कालोसूचीमा पारेको छ ।

अध्यक्ष भट्टराईले धरहरा निर्माण तथा मन्दिरका जीर्णोद्धारका लागि पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको भएता पनि ठोस प्रगति नभएको बताए ।

उनका अनुसार मनोकांक्षापूरा हुने विश्वासका साथ दर्शन गरिने सिद्धबाबाको मन्दिरको संरचना करिब २ दशक पहिले स्थानीय स्रोत र साधन जुटाएर तत्कालीन जिल्ला विकास समितिले बनाएको हो ।

केहीको व्यक्तिगत चन्दा समेतबाट मन्दिरको सामान्य संरचना बनाइएको थियो । २०७२ सालको भुकम्पबाट मन्दिरका पर्खालहरु र छाना समेत कमजोर भएको छ ।

पटकपटक चट्याङसमेत पर्दा मन्दिर झनै जीर्ण भएको छ । मन्दिरको छाना खस्ने अवस्थामा छ । मन्दिरको चारतिरका ढुंगे पर्खालका खम्बाहरु ढल्ने अवस्थामा छन् ।

भौगोलिक अवस्थितिको हिसाबले दुबै धरोहर पोखरा महानगरपालिकामा पर्छन् । पञ्चासे पोखराको सबैभन्दा उच्च भागपनि हो । पञ्चासे कास्की स्याड्जा र पर्वत जिल्लाको संगम स्थल पर्ने २ हजार ५ सय २७ मिटरको उचाइमा छ ।स्याङ्जा, पर्वतबाट नजिक पर्ने पोखरादेखि २८ किलोमिटरको दुरीमा पर्छ ।

धार्मिक क्षेत्र पञ्चासेमा बाला चतुर्दशीमा सतबीज छर्नेको भक्तजनको भीड लाग्छ । धार्मिक मेला लगायत पर्वहरुमा जाने तीर्थयात्रु, पदयात्री आकर्षणको केन्द्र बनेको छ । मन्दिर एकातिर जीर्ण हुनु र अर्कोतिर धरहराबाट चारैतिरको दृश्यावलोकन नगरेसम्म पञ्चासे यात्रा अधुरो मानिन्छ ।

पञ्चासेका आस्थाका मुख्य धरोहरहरु नै अहिले धराप रहेका छन् । जैविक विविधताको दृष्टिले महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायत आकर्षक हिमशृंखला र पोखरा उपत्यका लगायत विभिन्न गाउँबेसी र हरियाली जंगलको अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया