‘प्रदेश सरकारले घरमै धारा जोडदियो, अब जागिर खान पोखरा नजाने, घरमै होमस्टे चलाउँछु’

समाधान संवाददाता २०७७ कार्तिक २२ गते १३:३४


समाधान संवाददाता
लमजुङ, २२ कात्तिक


‘काठमाडौंको मिनरल वाटर भन्दा चोखो र मिठो छ यो पानी,’ टुटी खोलेर धारा उद्घाटन गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने । बिहीबार उनी लमजुङको घनपोखरामा एक घर एक धारा उद्घाटन गर्दै थिए । प्रदेश सरकारकै खर्चमा मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर १ घनपोखराका घरघरै धारा जडान भएको हो । जसको उद्घाटन गर्न स्वयं मुख्यमन्त्री पुगेका थिए ।


घरमै धारा आएपछि २२ वर्षीया खासा गुरुङ औधी खुसी देखिइन् । लकडाउन नहुँदासम्म उनी पोखराको एउटा रेस्टुरेन्टकी जागिरे थिइन् तर कोरोना भाइरसको महामारीले उनको जागिर गयो । गाउँमा आइन् । ‘प्रदेश सरकारले घरमा धारा ल्याइदियो अब जागिर खान पोखरा नजाने,’ उनले भनिन् । किन त ? भन्छिन्, ‘घरमै होमस्टे चलाउने सोचेकी छु ।’ उनकी बहिनी पनि पोखरामा जागिर गर्थिन् । अब दुई बैनी मिलेर घरमै पाहुना राख्ने बन्दोबस्ती मिलाउने सुरसार गरिरहेका छन् ।

Advertisement


दसैंअघिसम्म पनि उनलाई पिरलो थियो, चाडबाडमा पानीको कसरी गर्ने ? गाउँटोलमा ३/४ वटा धारा त थिए । तर तिनको भर थिएन । पानी आउँदै नआउने । त्यसमाथि गाउँभरिकालाई जम्मा त्यति धारा । सधैं बिग्रने, पाइप बुझिने र पानी नै नआउने हुन्थ्यो । उनी आफैं थुप्रैपटक गाउँभन्दा धेरै तलको कुवामा गएर पानी ल्याउँथिन् ।

अब उनमा आत्मविश्वास पलाएको छ, होमस्टे चलाउने । नजिककै घलेगाउँमा होमस्टे चलेको छ, गाउँकै एउटा अर्काे घरमा पनि होमस्टे छ । होमस्टेका लागि प्रदेश सरकारले पनि सहयोग गर्छ भन्ने सुनेकी उनमा अब गाउँमै बसेर स्वरोजगार बन्ने हुटहुटी छ ।

Advertisement


लमजुङ जिल्लाभरमै सबैभन्दा उचाइको गाउँ घनपोखरामा ६ किलोमिटर परको नेकोचे पात्ला मुहानबाट पानी ल्याइएको छ । १ करोड ३० लाख रुपैयाँ खर्च भएको आयोजना उपभोक्ता समितिमार्फत पूरा भएको हो । समितिका अध्यक्ष जीतबहादुर गुरुङ गाउँलेले पनि श्रम गरेर पानी आयोजना पूरा गरेको बताउँछन् । गाउँमा १३० धारा जडान भएको उनले सुनाए ।


उपभोक्ता समितिका सचिव कमल गुरुङका अनुसार यसअघिका गाउँका धारामा गाउँभरलाई पुग्ने पानी नै आउँदैनथ्यो । भन्छन्, ‘बर्खा लाग्यो कि बिग्रिहाल्थ्यो, पातपतिंगरले बुझिन्थ्यो, पहिरोले पाइप बगाउँथ्यो, बनाउँदा बनाउँदै हैरान हुन्थ्यो ।’

अहिले भने व्यवस्थित तरिकाले पानी ल्याइएको उनले सुनाए । ‘मुहानमा इन्टेक व्यवस्थित छ, इन्टेकमा २ वटा च्याम्बर छ, एउटा संकलन टंकी,’ उनले भने, ‘गाउँको माथि वितरण टंकी बनाएका छौं ।’ घनपोखरा र नायु गाउँका सामुदायिक भवन र सार्वजनिक स्थलमा पनि खानेपानीका धारा जडान गरिएको उनले जानकारी दिए ।


मुख्यमन्त्री गुरुङका अनुसार प्रदेश सरकारले २०७८/७९ सम्म प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ । उनले मुख्यमन्त्रीको पदभार सम्हालेर पहिलो बैठक बसेको दिन २०७४ फागुन ४ गते नै मन्त्रिपरिषदबाट गरेका थुप्रै निर्णयमध्ये एक थियो, ‘प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने ।’ त्यही लक्ष्य अनुसार घनपोखरामा पनि खानेपानी आयोजनाका लागि बजेट परेको थियो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका १ घनपोखरामा खानेपानी उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : समाधान

तपाईको प्रतिक्रिया