१४ करोड दिएको ५ महिना भयो, जिल्ला अस्पतालमा अझै छैन आइसियु

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २०:१९

अनुप आत्रेय, पोखरा

स्याङ्जाको वालिङ नगरपालिकाका ७० वर्षे वृद्धमा ९ कात्तिकमा कोरोना पुष्टि भयो । रक्तअल्पता, निमोनिया र क्षयरोगबाट ग्रसित थिए । अवस्था जटिल बनेपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा राखियो । उपचारकै क्रममा १४ कात्तिकमा उनको मृत्यु भयो ।

जिल्लामा आइसियु सेवा नहुँदा ती वृद्धजस्तै स्याङ्जाका सबै गम्भीर बिरामी पोखरा, काठमाडौं पुग्नुपर्ने बाध्यता छ । कति पोखरा ल्याउँदाल्याउँदै सास छोड्न बाध्य छन् ।

Advertisement

यही अवस्थाको अन्त्य गर्न गण्डकी प्रदेश सरकारले ५ महिना पहिले आइसियु र भेन्टिलेटर किन्न जिल्ला अस्पताल स्याङ्जालाई झन्डै २ करोड रुपैयाँ दियो । तर ५ महिनासम्म प्रगति शून्य छ ।

‘हामी खरिद प्रक्रियामा छौं । तर ल्याएर राख्ने ठाउँको समस्या छ,’ जिल्ला अस्पताल स्याङ्जाका मेसु डा. सुशील मरासिनीले भने ।

स्वास्थ्यमा समस्या भएपछि म्याग्दीकी २१ वर्षीया युवती कात्तिक पहिलो हप्ता जिल्ला अस्पताल बेनी पुगिन् । उनको मुटुको चाल एक्कासि बन्द भएको थियो । कृत्रिम श्वासप्रश्वास दिएपछि उनको मुटु धडकन सुरु ग¥यो ।

Advertisement

मुटुको समस्या गम्भीर हुने भएकाले तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । भेन्टिलेटरलाई कामचलाउ जनशक्ति भएको बेनी अस्पतालमा राख्न उनलाई सम्भव भएन ।

३ दिन त्यही कामचलाउ जनशक्तिको भरमा राखे पनि स्वास्थ्यमा सुधार नआएपछि ती युवतीलाई रेफर गर्ने निर्णय त्यहाँका डाक्टरले गरे । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाए ।

यो पनि – गण्डकीमा पोखराबाहिर एउटामात्रै आइसियु

बेनी अस्पतालमा ५ बेडको आइसियु र २ वटा भेन्टिलेटर छ । त्यो चलाउने दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीलाई पोखरा रेफर गर्नुपर्ने बाध्यता छ । ‘त्यो पूर्वाधार चलाउन कन्सल्टेन्ट चाहिन्छ । जटिल बिरामी केही समय सम्हाल्न सकिएला तर नियमित सेवा दिन गाह्रो छ,’ बेनी अस्पतालका निमित्त मेसु डा. अमृत अधिकारीले सुनाए ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को १६ वैशाखको बैठकले सबै जिल्ला अस्पतालमा आइसियु स्थापना गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले मनाङ र मुस्ताङमा २/२ बेड र बाँकी जिल्ला अस्पतालमा ५/५ बेडको आइसियु स्थापना गर्न निर्णय भएको २० दिनमै बजेट दियो ।

११ वटै जिल्लाका अस्पताललाई गरेर प्रदेश सरकारले ६ जेठमा १३ करोड ७८ लाख ५३ हजार रुपैयाँ पठाएको थियो । तर अधिकांश जिल्ला अस्पताल अझै आइसियु र भेन्टिलेटर सेवाविहीन छन् ।

बिलखबन्दमा जिल्ला अस्पतालः बिरामी जाँच्ने कि आइसियु चलाउने ?

पूर्वाधार जडान गरेका कुनै पनि अस्पतालसँग त्यो चलाउने जनशक्ति नै छैन । त्यही कारण विभिन्न जिल्लाका गम्भीर बिरामी पोखरा आउँछन् । लमजुङ, गोरखा, मनाङका बिरामी चितवन वा काठमाडौं जान्छन् ।

कोरोनाका गम्भीर बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिने भए पनि पोखराबाहिर बागलुङबाहेक अरु जिल्लामा दक्ष जनशक्ति छैनन् । बेनी अस्पतालका निमित्त मेसु डा. अधिकारीका अनुसार जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार र स्वास्थ्य विभागमा अनुरोध गरिए पनि सुनुवाइ भएको छैन ।

‘हामीले दक्ष जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचार आइसियुमा गर्न सक्दैनौं,’ उनले भने, ‘यहाँ पूर्वाधार भएपनि जनशक्तिकै अभावमा बिरामी महँगो खर्चमा पोखरा वा काठमाडौं जानुपरेको छ ।’

जनशक्तिमात्रै समस्या होइन, जिल्ला अस्पतालसँग आइसियु राख्ने गर्ने ठाउँ नै छैन । लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ आइसियु बेड ल्याउने तयारी अन्तिम चरणमा पुगे पनि त्यसलाई कहाँ राख्ने भन्ने टुंगो लाग्न नसकेको बताउँछन् ।

‘त्यसलाई त एमडिजिपी डाक्टर, फिजिसियन, एनेस्थेसियोलोजिस्ट चाहिन्छ । जनशक्ति नभएकाले पूर्वाधार आए पनि सोचेजस्तो गर्न सकिँदैन,’ उनी भन्छन्, ‘अझै आइसियु राख्न छुट्टै ठाउँ चाहिन्छ । प्रदेश सरकारलाई भनेका छौं ।’

दमौली अस्पतालका मेसु डा. सुनील पौडेल पनि जनशक्ति नआउँदासम्म आइसियु चलाउन सम्भव नभएको बताउँछन् । ‘यसको छुट्टै कोर्स नै ३ वर्षको हुन्छ । १ दिनको तालिमले हुँदैन,’ उनले भने, ‘प्रदेशले केही गर्ला ।’

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ र भदौमा गरी २ पटक विभिन्न जिल्लाका स्वास्थ्यकर्मीलाई आइसियु व्यवस्थापन तालिम दिएको थियो ।

जनशक्ति थप्ने तयारी गर्दै प्रदेश

गण्डकी प्रदेशमा कात्तिकमा दैनिक २ सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको मृत्यु नभएको दिनै छैन । अन्य जिल्लाका गम्भीर संक्रमितले पोखराका अस्पतालको आइसियुमा ज्यान गुमाइरहेका छन् ।

गत आर्थिक वर्ष बजेट पठाएको सरकार बल्ल जनशक्ति थप्नेतर्फ अघि बढेको छ । महामारी फैलिरहँदा प्रदेश बल्ल तयारीमा जुटेको हो ।

मनाङ र मुस्ताङमा एमडिजिपी डाक्टर, फिजिसियन र एनेस्थेसियोलोजिस्टमध्ये १ जना पठाउने तयारी सामाजिक विकास मन्त्रालयले गरेको छ ।

अन्य जिल्लामा २/२ जना खटाउने गरी प्रस्ताव तयार पारिएको मन्त्रालयका अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।

कानुन मन्त्रालयबाट राय लिएपछि मन्त्रिपरिषद्मा उक्त प्रस्ताव पठाउने र जनशक्ति खटाइने उनले बताए । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि जनशक्ति खटाइन्छ । मनाङ र मुस्ताङमा २ जना स्टाफ नर्स र अरुमा ४/४ जना पठाउने तयारी छ,’ डा. केसीले भने ।

पोखराबाहिर ५ आइसियु, ४ भेन्टिलेटर

चैतसम्म गण्डकी प्रदेशमा १ सय ३३ आइसियु र ५४ भेन्टिलेटर थिए । कोरोना संक्रमण देखिँदा पोखराबाहिर धौलागिरी अस्पतालमा एउटामात्रै आइसियु थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा अहिले १ सय ८५ आइसियु र ५४ वटा भेन्टिलेटर छ । सरकारी अस्पतालमा जम्मा २४ आइसियु र ९ वटा भेन्टिलेटर छन् ।

सरकारीतर्फ सबैभन्दा धेरै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ आइसियु र ५ वटा भेन्टिलेटर रहेको निर्देशनालयको तथ्यांक छ । त्यसबाहेक धौलागिरी प्रादेशिक अस्पतालमा ३/३ वटा आइसियु र भेन्टिलेटर, जिल्ला अस्पताल गोरखामा २ आइसियु र एउटा भेन्टिलेटर छ ।

प्रदेशमा सबैभन्दा धेरै गण्डकी मेडिकल कलेजमा ४८, मनिपाल शिक्षण अस्पतालमा ३२, चरक मेमोरियल हस्पिटलमा २४, कास्की सेवा हस्पिटलमा १०, फिस्टेल हस्पिटलमा १०, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ६ वटा आइसियु छन् ।

त्यसबाहेक फेवासिटी हस्पिटलमा ६, ग्यालेक्सी हस्पिटलमा ६, रिजनल हस्पिटलमा ५, मेट्रो हस्पिटलमा ४, नमस्ते हस्पिटलमा ५ र पार्कल्यान्ड हस्पिटलमा ५ वटा आइसियु बेड छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै भेन्टिलेटर मनिपाल शिक्षण अस्पतालमा १५ वटा छन् ।

गण्डकी मेडिकल कलेजमा १०, चरक मेमोरियलमा ५, फिस्टेलमा ५, फेवा र मेट्रो सिटीमा २/२, पश्चिमाञ्चल सामुदायिकमा, कास्की सेवा, नमस्ते, पार्कलयान्ड, ग्यालेक्सी, र रिजनल अस्पतालमा एउटा भेन्टिलेटर छ ।

तपाईको प्रतिक्रिया