गण्डकीमा आज थपिए २७८ कोरोना संक्रमित, ३ जनाको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २०:१०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शनिबार २ सय ७८ कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखरामा गरिएको परीक्षणमा ८ जिल्लाका २ सय ७८ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ८६ जना छन् । यो कुल संक्रमित संख्याको ६६.९० प्रतिशत हो । गोरखाका ३१, तनहुँका २८, बागलुङ र लमजुङका १०/१०, नवलपुरका ६ र स्याङ्जाका ५ जना छन् ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ । तीमध्ये ४८ सय ५२ निको भएका छन् । शनिबार १७ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये १ सय ३ जनाको मृत्यु भएको छ । शनिबार ३ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कास्की, नवलपुर र स्याङ्जाका १/१ संक्रमितको मृत्यु भएको उनले बताए ।

Advertisement

मृत्यु हुनेमा पोखरा महानगरपालिका १७ की २९ वर्षे युवती, स्याङ्जाको पुतलीबजार नगरपालिका ८ की ७३ वर्षे वृद्धा र नवलपुरको गैंडाकोट नगरपालिका १२ का ८२ वर्षे वृद्धको मृत्यु भएको हो ।

पोखराकी युवतीको चरक मेमोरियल हस्पिटल, पुतलीबजारकी संक्रमितको फेवासिटी हस्पिटल र गैंडाकोटका संक्रमितको चितवन मेडिकल कलेजमा ज्यान गएको निर्देशक शर्माले जानकारी दिए ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४२, नवलपुरका १९, तनहुँका १४, गोरखाका ८, बागलुङका र स्याङ्जाका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया