गण्डकीका प्रमुख सचिव नेपाल संक्रमणमुक्त

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २१:४७

पोखरा

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण पुष्टि भएको १५ औं दिन शुक्रबार दोस्रो पटक स्वाब परीक्षण गर्दा शनिबार नतिजा नेगेटिभ आएको हो ।

Advertisement

उनी क्वाटरमै आइसोलेसनमा थिए । प्रमुख सचिव नेपालसहित पत्नी, छोरा, छोरी र भान्सेलाई समेत कोराना पुष्टि भएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । उनीहरुकाे दसै‌ आइसाेलेसनमै बित्याे ।

आइसोलेसनमै रहँदा पनि उनी सरकारका महत्वपूर्ण काममा संलग्न रहँदै आएका थिए । कोरोना नियन्त्रण, रोकथाम र उपचारका क्रममा देखिएका कमजोरी विश्लेषण गर्दै कामलाई प्रभावकारी बनाउन नियमितजसो सचिवहरुसँग बैठक गरी अगाडि बढिएको प्रमुख सचिव नेपालले बताए ।

Advertisement

पोखरामा प्रदेश सरकारमातहत सुविधासम्पन्न अस्पताल नहुँदा जटिल खालका बिरामीको व्यवस्थापनमा केही असहजता भए पनि छिटै यसको निराकरण गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

पोखरामा रहेका २ मेडिकल कलेजहरुसँग समेत सहकार्य गरेर जिल्लाहरुमा आउटरिच सुविधा पुर्‍याउने सकिने बारेमा समेत छलफल प्रारम्भ भएको उनले बताए ।

कोरोनाको प्रभाव व्यक्तिपिच्छे फरक हुने भएकाले यसबाट बच्न आफै सजगता अपनाउन उनले आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर कोरोना पुष्टि भएपछि निवासमै आइसोलेसनमा छन् ।

प्रदेश सभा सदस्यहरु दीपक कोइराला, गायत्री गुरुङ, रामबहादुर गुरुङ, विनोद केसी पनि आइसोलेसनमै छन् । विधायन समिति सभापति मोहनप्रसाद रेग्मी ४० दिनपछि संक्रमणमुक्त भएका छन् ।

मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे दम्पति पनि कोरोना संक्रमणमुक्त भएर नियमित काममा फर्केका छन् ।

तपाईको प्रतिक्रिया