मुस्ताङ झरे डोल्पाली याक

समाधान संवाददाता २०७७ कार्तिक २३ गते ८:५४

एसके थकाली, जोमसोम

डोल्पाको उपल्लो भागबाट बिक्री गर्न याक तथा चौरीहरु मुस्ताङ झारिएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा व्यावसायिक रुपमा पालिएका ती जनावरहरु वर्षेनी जोमसोममा बिक्रीका लागि झारिन्छ ।

Advertisement

डोल्पाका स्थानीय व्यवसायी निमा छेतेनले वर्षेनि हिउँदयाममा पशुपालक तथा व्यवसायीले बिक्रीका याक तथा चौरी ल्याउने गरेको जानकारी दिए ।

डोल्पाको उपल्लो भागमा याक, चौरीलाई माल सामान ढुृवानीका लागि प्रयोग गरिन्छ । मुस्ताङमा याक तथा चौरीको रगत खाने मेला लाग्छ । डोल्पाको याक, चौरीहरु सुकुटी बनाउनको लागि किनमेल गरिन्छ ।

Advertisement

यस वर्ष कोरोना भाइरसका कारण तिब्बतबाट भेडा च्यांग्रा मुस्ताङ आएनन् । स्थानीय भेडा च्यांग्राको मूल्यसमेत महँगो पर्ने भएकाले जोमसोममा याक चौरी सजिलै बिक्री भएको उनले सुनाए ।

डोल्पाको माथिल्लो भागदेखि १ साताको पैदल हिँडाएर जोमसोम ल्याइएका याक तथा चौरीको मूल्य एउटाको १ लाखदेखि १ लाख १० हजार रुपैयाँसम्म छ ।

याक तथा चौरी जोमसोम ल्याएर बिक्री व्यवसाय गरेका निमाले दोस्रो लटमा ल्याएका सबै बिक्री भएको जानकारी दिए ।

मुस्ताङका स्थानीयले हिउँदयामका लागि तरकारी, दाल र अन्य परिकारमा मिसाएर खानका लागि भेडा च्यांग्रा र याकको सुकुटी बनाउने परम्परा छ ।

हिउँदयाममा मुस्ताङमा तरकारीको अभाव हुने भएकाले मुस्ताङीले याक, भेडा, च्यांग्राको मासु सुकटी बनाएर राख्ने गर्छन् ।

ती जनावरको सुकुटी मासु कोसेलीको रुपमा देश विदेशका आफन्तलाई पु-याउने प्रचलन छ । सुकुटी कतिपयले बिक्रीसमेत गर्छन् ।

जोमसोमका स्थानीय भूपेन्द्र शेरचनले मासुजन्य पदार्थ कोरोनाका कारण जिल्ला नभित्रिएकाले भेडा च्यांग्रा र याकको माग बढेको बताए ।

हिमाली तथा उच्चलेकको चिसो हावापानीमा हुर्केका याक चौरीले वनका जटीबुटी सेवन गर्ने भएकाले तिनको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक हुने शेरचनको कथन छ ।

चौरीबाट स्थानीय पशुपालकले दूध, दही, घ्यु र छुर्पी आदि तयार गर्छन । मुस्ताङमा वर्षेनी वैशाख र साउन महिनामा याक चौरीको आलो रगत खाने मेला लाग्छ ।

कोरोना कहरका कारण यस वर्ष रगत खाने मेला स्थगित भयो । याक चौरीको आलो रगत खाएको खण्डमा दीर्घ रोग निको हुने विश्वास छ । बाहिरी जिल्लाबाट उल्लेख्य सर्वसाधारण चौरीको रगत खान मुस्ताङ आउँथे ।

डोल्पाका उपल्लो भागका पशुपालक किसानले याक, चौरीलाई भारी बोकाएर खाद्यान्न र मालसमान ढुवानीको काम गरेको पशुपालक किसान ग्याल्जेन गुरुङले बताए ।

हिउँदयामका लागि आवश्यक पर्ने खाद्यान्न ओसारपसार गर्न याक चौरीको प्रयोग गरिन्छ । उनले वर्षेनि बर्खायाममा तिब्बत र मुस्ताङ पुगेर खाद्यान्न ढुवानी गर्ने बताए ।

डोल्पाका उपल्लो भागमा अधिकांश स्थानीयले याक तथा चौरी पालन गर्छन् । केहीले खेतीपाती र यार्सा संकलन गरेर मनग्ये आम्दानी गर्छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ र टुकुचे र घरपझोङ गाउँपालिकाको जोमसोममा पनि स्थानीय पशुपालक किसानले याक चौरी पाल्छन् ।

हिमाली क्षेत्रको करिब ३ हजारभन्दा माथिको उचाइमा गोठनै खडा गरेर याक तथा चौरी पालन व्यवसाय गरिएको छ ।

तपाईको प्रतिक्रिया