मुख्यमन्त्रीले मागेको ४ अर्ब दिने ओलीको प्रतिबद्धता

समाधान संवाददाता २०७७ कार्तिक २३ गते १८:२२

समाधान संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवाद समाधानको प्रयासका लािग काठमाडौं गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रम निवास बालुवाटरमा भएको भेटमा समसामयिक राजनीतिक भलाकुसारीसँगै मुख्यमन्त्रीले गण्डकीका लागि बजेटसमेत माग गरेका थिए ।

संघले हस्तान्तरण गरेका तर बजेट नआएका आयोजनाका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बजेट माग गरेका हुन् । त्यस अनुसार प्रम ओलीले गण्डकीका लागि यस वर्ष झन्डै ४ अर्ब रुपैयाँ निकासाको प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले समाधानलाई जानकारी दिए ।

Advertisement

खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड रुपैयाँ, ४३ वटा विशेष खानेपानी आयोजनाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिएको मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई सुनाएका थिए ।

‘प्रधानमन्त्रीले ती सबैका लागि आवश्यक बजेट यसै वर्ष पठाउने प्रतिबद्धता गर्नुभयो,’ मुख्यमन्त्री गुरुङले समाधानसँग भने ।

Advertisement

सीमित आम्दानीको स्रोत भएको प्रदेश सरकारले दीर्घकालीन महत्वका यी आयोजना सञ्चालनका र निरन्तरताका लागि संघ सरकारलाई घच्घच्याएको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि संघीय अर्थमन्त्री विष्णु पौडेललाई भेटेर पनि बजेट व्यवस्था गरिदिन आग्रह गरेका थिए । संघ सरकारले ससर्त अनुदान दिने गरी हस्तान्तरण गरेका आयोजनाका लागि बजेट नआएपछि मुख्यमन्त्री काठमाडौं धाएका हुन् ।

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारले काम थालेपछि संघले गण्डकी सरकारलाई दर्जनौं आयोजना हस्तान्तरण गरेको थियो ।

आयोजना जिम्मामा आए पनि बजेट नआएपछि प्रदेश सरकारलाई टाउको दुखाइ बनेको थियो । प्रदेशको आफ्नै आम्दानी छैन । स्थानीयस्तरमा उठेको राजस्व बाँडफाँटबाट आउने राजस्व थोरै हुन्छ । जुन आम्दानीले यति धेरै आयोजना सञ्चालन गर्न कठिन छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँग मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको फाइल तस्बिर । तस्बिर : विक्रम न्यौपाने

तपाईको प्रतिक्रिया