चन्द्रकोटको स्कुलमा पूर्वविद्यार्थीले वितरण गरे खेलकुल पोसाक

समाधान संवाददाता
पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिका ६, चन्द्रकोटस्थित संगम माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई खेलकुद पोसाक वितरण गरिएको छ ।
उक्त अवसरमा स्व. धीरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट गत वर्षको एसइईमा सर्वोकृष्ट अंक ल्याउन सफल २ विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति समेत वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा अन्नपूर्ण–६, लुम्लेका अञ्जु देवकोटा र अन्नपूर्ण–७, ह्वाँडीका सीता भण्डारी छन् ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भए पनि सो अनुरुप ग्रामीण भेगमा शिक्षाको गुणस्तर नपुगेको बताए । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा राखे ।
गाउँपालिका शिक्षा इकाई प्रमुख बलराम भुगाईंले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उहाँले विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकोले शिक्षकहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष नविन गुरुङले पोसाक सौजन्यकर्ताका साथै छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने भूपू जिल्ला पञ्चायत सदस्य धीरबहादुर गुरुङको परिवारजनप्रति धन्यवाद ज्ञापन गरे । उनले विगतमा जस्तै अगामी दिनमा पनि मञ्चले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रम गर्दै जाने लक्ष्य राखेको बताए ।
पूर्व विद्यार्थी मञ्चका सचिव लक्ष्मीनारायण देवकोटाले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका कार्यसमिति सदस्य एवं अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु अन्नपूर्ण–७, तान्चोक घर भई हाल युके निवासी चन्द्रमान गुरुङ र अम्बले गुरुङ, अन्नपूर्ण–७, ह्वाँडी घर भई हाल फिलिपिन्समा कार्यरत शंकरमान गुरुङ र अन्नपूर्ण–७, तोमिजुङ निवासी आशबहादुर गुरुङले पोसाक सौजन्य गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी लागेको आशबहादुरले प्रतिक्रिया दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर गुरुङ र प्रधानाध्यापक टेकनाथ पोखरेलले टिसर्ट र ट्रयाकसूट सहयोगको लागि पूर्व विद्यार्थी मञ्च र सहयोगदातालाई विद्यार्थी विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
तपाईको प्रतिक्रिया