हतार गरे भन्न सकिन्न…

समाधान संवाददाता २०७७ कार्तिक २५ गते ६:३०

सम्पादकीय

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गाडी दुर्घटना कम गर्न अभियान थालेको छ ।

‘चालकसँग १ मिनेट कार्यक्रम’ नाम दिइएको उक्त अभियान प्रदेशका ११ वटै जिल्लामा कार्यान्वयनमा आएको छ । कोरोना त्रासले ठप्पप्राय रहेको यातायात क्षेत्रले अहिले गति लिन थालेको छ ।

Advertisement

साँघुरा र जीर्ण सडक अनि गाडीको भीड, त्यसमाथि तीब्र गति । त्यसका कारण निम्तिन्छ क्षति । ट्राफिक प्रहरीले लगाउँदै आएको पुरानो नारा छ, ‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न ।’

हो यही हतार कम गर्न र सामान्य गतिमा गाडी चलाउन अनि चालकलाई ट्राफिक नियम सिकाउन सुरु भएको यो अभियान पक्कै पनि सार्थक हुनेछ ।

Advertisement

अभियानका क्रममा तीब्र गतिमा गाडी नचलाउन चालकलाई सचेतनामूलक सन्देश दिएर सुरक्षित यात्राको कामना गरी १ मिनेटभित्र बिदा गरिने छ ।

गण्डकी प्रदेशका ११ जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ अस्थायी ट्राफिक प्रहरी पोस्टहरुले राजमार्ग तथा सहरी क्षेत्रमा एकै पटक यो अभियान सुरु भएको छ ।

ट्राफिक नियम मात्र होइन कोरोनाको संक्रमणबाट बच्ने बचाउने उपायका बारेमा पनि चालकलाई सिकाइने भएको छ ।

सडकमा खटिएको ट्राफिक प्रहरीले सबैभन्दा पहिला गाडीलाई रोक्नेछन् । त्यसपछि चालकलाई ट्राफिकले सम्मानपूर्वक नमस्कार गर्नेछन् ।

त्यसपछि कोरोना भाइरसबाट सुरक्षित रहन सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गर्नेछ ।

गाडी चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट प्रयोग गर्न अनुरोध गरिने, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाउन आग्रह गरिने छ ।

मादक पदार्थ तथा नसाजन्य पदार्थ सेवन गरेर गाडी नचलाउन समेत ट्राफिकले अनुरोध गर्नेछन् । ओभरस्पिड नियन्त्रण गर्नका लागि राजमार्ग तथा खुला सडकखण्डमा लेजरगनको प्रयोग समेत ट्राफिकले गर्न थालेको छ ।

हो, ट्राफिकले थाल्ने सबै खाले अभियान राम्रै सोचले आएका हुन्छन् । तर ती कार्यक्रम सफल हुन नपाउँदै विवादको घेरामा पर्ने गरेका दृष्टान्त छन् ।

नागरिकको सेवा अझ खासगरी कानुन कार्यान्वयनको जिम्मा सुरक्षाकर्मीको हो । त्यहि भएर ट्राफिक प्रहरी धुवाँधुलो सहेर पनि घन्टौंसम्म सडकमा खटिएका हुन्छन् । तर केही अपवाद छाडेर ट्राफिकले गर्ने व्यवहार नागरिकमैत्री छैनन् ।

अभियान चलाउँदाका बखत नरम व्यवहार गर्ने अनि त्यसपछि पुरानै लयमा फर्केर चालकलाई अनावश्यक दुख दिने, लेनदेनमा कुरा मिलाउन खोज्ने जस्ता आरोप ट्राफिकमाथि लाग्दै आएका छन् ।

ट्राफिक व्यवस्थापनको पूरै जिम्मा केबल प्रहरीको मात्र होइन ।

यसमा सबैभन्दा ठूला जिम्मेवार चालक आफै हो । नियम पालना गरेर सुरक्षित रुपमा गाडी चलाएको खण्डमा कारवाहीमा त परिँदैन नै दुर्घटना पनि आफै कम भएर जान्छन् । तर कहिलेकाँहि भुलवश हुने घटनामा ट्राफिकले अनावश्यक दुख दिने काम गर्नु हुँदैन ।

कुनामा लुकेर बसेर कहाँ कतिबेला गल्ती भेटिन्छ र नगदसहित जरिवाना गर्न पाइन्छ भन्ने जस्ता प्रवृत्ति अन्त्य गरिनुपर्छ ।

चालकहरु पनि ट्रापिकसँग मुखामुख गर्नुभन्दा नियम पालनामा प्रतिबद्ध हुनुपर्छ । चालक र ट्राफिकको व्यवहार मात्र होइन हाम्रा सडकका पूर्वाधार पनि दुर्घटनाका कारक हुन् ।

यसका लागि ३ तहका सरकार जिम्मेवार हुनुप-यो । अहिले स्मार्ट पुलिसिङको कुरा आएको छ ।

सडकमा ट्राफिक प्रहरी खटिएर सिटी फुक्नुभन्दा ट्राफिक बत्ती, सिसि क्यामेराको प्रयोगले पनि त धेरै सहज बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया