घरपझोङका विद्यालय यो महिना नखुल्ने

एसके थकाली, जोमसोम
कोरोना कहरका कारण मुस्ताङको घरपझोङ गाउँपालिकाका शैक्षिक संस्था कात्तिक महिनाभर नखुल्ने भएका छन् ।
कारोना संक्रमित बढेसंगै विद्यालय बन्द गरेको पालिका शिक्षा शाखाका अधिकृत हिमलाल शर्माले जानकारी दिए ।
पालिकामा समुदायस्तरमै पहिलोपटक कोरोना संक्रमित देखिएपछि गत कात्तिक १३ गतेदेखि एकसाताका लागि विद्यालय बन्द थिए ।
पालिकाका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा आइतबार बसेको शिक्षाका सरोकारवालाहरुको संयुक्त बैठकले सोमबार सूचना प्रकाशित गरी विद्यार्थी सिकाई सहजीकरण अन्तर्गतको शैक्षिक पठन पाठन कार्तिक मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम गत असोज १ गतेदेखि विद्यालयको शैक्षिक पठन पाठन क्रियाकलाप संचालन गर्न निर्देशन गरेको थियो ।
पालिका अन्र्तगतका २ निजीसहित १० सामुदायिक विद्यालयहरु कोरोनाका कारण बन्द हुँदै आएका छन् । शिक्षा अधिकृत शर्माले कोरोना कहरका कारण विद्यालय बन्द गरेतापनि कक्षा ११ र १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने बताए ।
विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्रमा विद्यालय सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।
थासाङ गाउँपालिकामा दसैं विदामा घर गएर फर्किएका शिक्षकहरु १४ दिन क्वारेन्टाइनमा बसेकाले विद्यालय सञ्चालन नभएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।
उनका अनुसार क्वारेन्टाइनमा बसेका शिक्षकको समय अवधी पुरा भएपछि विद्यालय खुल्ने बताए ।
तपाईको प्रतिक्रिया