पोखरेली जेठोबुढोको भाउ तोकियो, मुरीको ४५ सय

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ७:४५

भरत कोइराला, पोखरा

पोखरेली जेठोबुढो धानको पहिलोपटक न्यूनतम समर्थन मूल्य तोकिएको छ । सरकारले केन्द्रीयस्तरमा बर्सेनि मध्यम र मोटा धानको मूल्य तोके पनि स्थानीयस्तरमा भने पहिलेपटक यस्तो प्रयास भएको हो ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार जेठोबुढो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ९ हजार रुपैयाँ तोकिएको छ ।

Advertisement

स्थानीयस्तरमा क्विन्टलभन्दा पनि मुरीका आधारमा धान किनबेच हुन्छ । सामान्यतया १ क्विन्टलमा २ मुरी हुने भएकाले किसानले १ मुरी धानको कम्तीमा ४ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

प्रति इकाई लागतका आधारमा यो मूल्य तोकिएको कडरियाले बताए । उनले भने, ‘यो न्यूनतम मूल्य हो । अर्थात् किन्ने र बेच्ने तयार भए भने यो भन्दा बढीमा पनि कारोबार हुनसक्छ ।’

Advertisement

टाठाबाटा किसानले प्रतिमुरी ५ हजारदेखि ५५ सयसम्म पनि पार्ने गरेका छन् । अहिले धान खेतीमा लागत बढ्दै गएकाले किसानलाई खासै फाइदा छैन । प्रतिमुरी उत्पादन लागत ३ हजार ८ सय रुपैयाँसम्म परेको कडरियाले बताए ।

उनका अनुसार पोखराको पहिचानसँग जोडिएको र किसान नठगिउन् भन्नकै लागि पहिलोपटक मूल्य तोकिएको हो ।

पोखरा महानगरले मंगलबार मेयर मानबहादुर जिसीको उपस्थितिमा यो मूल्य तोकेको हो ।

बैठकमा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि, गण्डकी प्रदेशको भन्दै व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कास्की, बिउबिजन प्रयोगशालाका प्रतिनिधि सहभागी थिए ।

महानगरको सहकारी विभाग प्रमुख जेठोबुढो धानको अनुुन्धान र बिउ सुधारमा काम गर्दै आएको जैविक विविधताका लागि स्थानीय पहल (लिबर्ड), ३ वटा सहकारी र कृषि सञ्जालका प्रतिनिधिको सहभागितामा धानको मूल्य तय गरिएको हो ।

महानगरले यस्ता उपजको बजार ग्यारेन्टी लिने र गुणस्तरको आधारमा ब्रान्डिङ गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने मेयर मानबहादुर जिसीले बताए ।

पोखरा महानगरपालिकाले जेठोबुढो धान प्रवद्र्धनकै लागि गएको वर्ष धान उत्पादक किसानलाई आर्थिक सहयोग गरेको थियो ।

कम्तीमा ५ रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने किसानलाई आर्थिक सहयोग गरेको हो । किसानलाई सहयोग गर्दा खेतीयोग्य जग्गाको सदुपयोग हुने र स्थानीय बालीको प्रवद्र्धन हुने भएकाले सहयोग गरिएको बताए ।

उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी ५ लाख ६० हजार वितरण गरिएको हो । पोखरा र आसपासका मुख्य फाँटहरूमा पोखरेली जेठोबुढो रोप्ने गरिएकोमा केही वषदेखि हाइब्रिड धान पनि भित्रिएकाले बास्नादार धान जोगाउन महानगरले लगानी गरेको हो ।

हाइब्रिड धानको बिउमा परनिर्भर बन्नुपर्ने, बाला नलाग्ने, रोग किरा बढी लाग्ने, रासायनिक मल विषादीको प्रयोग बढी हुने भएकाले स्थानीय रैथाने जातको जेठोबुढो जोगाउन पहल थालिएको हो ।

रैथाने धान स्वादिलो भएकोे, धेरै माग, दिगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकाले जेठोबुढो प्रवद्र्धनमा महानगरले चासो देखाएको उनले बताए ।

समर्थन मूल्य तोकिएपछि किसानको धान नबिकेमा महानगरले नै किनिदिनुपर्छ । पोखराको हकमा सहकारी संस्थाहरु धान किन्न तयार भइसकेको कृषि महाशाखा प्रमुख कडरियाले बताए ।

कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखराभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्योमध्ये ४० प्रतिशत खेतमा जेठोबुढो धान लगाइन्छ । अरु धानभन्दा जेठोबुढोको उत्पादकत्व भने कम छ ।

सामान्य धान ८÷९ मुरी फल्ने ठाउँमा जेठोबुढो ३÷४ मुरी मात्र फल्छ । जेठोबुढो धान पाक्न पूरै ६ महिना लाग्छ ।

पोखराको फेवा, बिरुवा, पामे, ठूलाखेत, कुँडहर, अर्मला, आर्बा, अर्घौं, खास्टे, सिसुवा, लगायत फाँटमा जेठोबुढो धान हुन्छ ।

यी फाँटमा फल्ने जेठोबुढोका ३ सय ३८ मध्येबाट हावापानी सुुहाउँदो लिबर्डले ६ वटा जात निर्धारण गरेको छ । लिबर्डकै सिफारिसका आधारमा ‘पोखरेली जेठोबुढोधान’ को नाममा २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको हो ।

यो धान पोखरा आसपास चिसो पानी लाग्ने ६ सय देखि ९ सय मिटरसम्ममा फल्ने अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया