अज्ञात रोगले मर्दै भेडाच्यांग्रा

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ९:३४

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासका लेकमा स्थानीयका चौपाया अज्ञात रोगले धमाधम मर्न थालेका छन् ।

हिउँदयामको मौसममा ३ महिनाका लागि गाउँनजिकैको खर्कमा छाडिएका चौपायामा अज्ञात रोग देखा परेको हो ।

Advertisement

अज्ञात रोगले स्थानीय किसानका भेडाच्यांग्रा केही हप्तायता मर्न थालेपछि सीमावर्ती क्षेत्रका पशुपालक किसान समस्यामा परेको स्थानीय बताउँछन् ।

लोमान्थाङ गापा—२ छोसेरका कर्मावांगेल गुरुङले २ हप्तामा करिब १ सयभन्दा बढी भेडाच्याङ्ग्रा मरेको र १ हजारभन्दा बढी भेडाच्यांग्रा बिरामी परेको जानकारी दिए ।

Advertisement

लोमान्थाङ १, २ र ४ नम्बर वडाका किसानले श्यार, डलोबोटा र काप्लुङ लगायत लेकको चरन क्षेत्रमा छाडेका चौपायामा अज्ञात रोग देखा परेको हो ।

लेकमा छाडिएका भेडाच्यांग्रामा आँखा पाक्ने, पखाला लाग्ने, आहार नखाने, मुखमा घाउ आउने र नाकबाट सिंगान र रगत बग्ने जस्ता समस्या देखिएको गुरुङले बताए ।

लोमान्थाङ गापाका पशु प्राविधिक दिलिप पुर्जाले लोमान्थाङ गापा १,२ र ४ का स्थानीय पशुपालकले पालेका करिब २५ देखि ३० वटा भेडाच्यांग्रा अज्ञात रोगले मरेको र करिव ६० भन्दा बढी चौपाया बिरामी परेको जानकारी दिए ।

उनका अनुसार गापासहितको टोलीले रोग लागेका पशु चौपायालाई एन्टिबायोटिक दिइएको छ ।

गोठबाट टाढा रहेको र रोगले नभेटिएका पशु चौपायालाई टिपिआर भ्याक्सिन लगाइएको उनले बताए ।

एन्टिबायोटिक र टिपिआर भ्याक्सिन लगाएपछि पहिलेको तुलनामा रोग केही मात्रामा नियन्त्रणमा आएको पशु प्राविधिक पुर्जाले उल्लेख गरे । यसअघि यस प्रकारको रोग लोमान्थाङ ५ मा देखिएको भएपनि अहिले उपचारपछि नियन्त्रणमा आइसकेको उनले बताए ।

उपल्लो मुस्ताङका स्थानीयले चौपायामा देखिएको अज्ञात रोग उत्तरी सीमावर्ती क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याइएका भेडाच्यांग्राबाट सरेको हुनसक्ने बताएका छन् । तिब्बतबाट नेपालतर्फको सीमावर्ती गाउँका गोठका भेडाच्यांग्राको बथानमा मिसाइएकोमा रोग फैलिएको हुन सक्ने स्थानीयको शंका छ ।

उपल्लो मुस्ताङको सीमावर्ती गाउँका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडाच्यांग्रा तथा याक/चौरीपालन व्यवसाय हो ।

उपल्लो मुस्ताङमा दक्ष पशु चिकित्सकको अभावले चौपायाको उपचार कठिन हुने गरेको छ । स्थानीयले पशु बिमासमेत गरेका छैनन् ।

उपल्लो मुस्ताङमा हिउँद याममा भारी हिमपात हुने र प्राकृतिक प्रकोपका कारण किसानको पशुपालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय बताउँछन् ।

२ वर्षअघि उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा सयौंको संख्यामा चौपाया लेकमा मरेका थिए ।

तपाईको प्रतिक्रिया