राखेप सदस्य सचिव सिलवाल र सदस्य गुरुङको अभिनन्दन

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ११:११

समाधान संवाददाता, स्याङ्जा

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङलाई पुतलीबजार नगरपालिका ९ मा कोल्मामा अभिनन्दन गरिएको छ ।

कोल्मा फुटबल स्टेडियम निर्माण समितिले सदस्य सचिव सिलवाल र सदस्य गुरुङले स्टेडियम बनाउन गरेको योगदानको उच्च कदर गर्दै सिलवाल र सदस्यलाई स्वागत तथा अभिनन्दन गरेको हो ।

कोल्मा निवासी परिषद सदस्य गुरुङको पहलमा कोल्मा स्टेडियम निर्माणमा परिषदले ७ लाख प्रदान गरेको निर्माण समिति सचिव मनबहादुर थापाले बताए ।

निर्माण समितिले गरेको स्वागत, अभिनन्दन तथा बधाई कार्यक्रममा सदस्य सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगतालाई पोखराबाट विकेन्द्रित गरेर स्याङ्जामा केही खेल खेलाउने प्रतिबद्धता गरे ।

कोरोनाका कारण नवौं राष्ट्रिय खेल अन्यौलमा रहे पनि पोखरामा खेल खेलाउँदा स्याङ्जा नछुट्ने बताए ।

खेलकुदको मुख्य नगरीको रुपमा परिचित पोखरासँगै जोडिएको स्याङ्जालाई कर्मचारीमा सफल जस्तै खेलकुदमा समेत सफल जिल्ला बनाउन सहयोग गर्ने बताए ।

स्याङ्जाको खेलकुद विकासमा बजेट विनियोजन गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउँदै सिलवालले कोल्मा ढिलोचाँडो फुटबलमात्र नभई सबै खेलकुद खेलाउन मिल्ने स्टेडियम बन्ने बताए ।

कार्यक्रममा खेलकुद परिषद सदस्य गुरुङले जन्मथलो जिल्लाभन्दा बाहिर रहे पनि खेलकुदको विकासमा अहोरात्र खटिने बताए ।

कार्यक्रममा गुरुङले आफू पढेको कोल्मा बराहचौर माविमा रकमसिँह गुरुङ र आमा गौमाया गुरुङको नाममा अक्षयकोषमा एक लाख थप गरेका छन् । यसअघि अक्षयकोषमा ५० हजार थियो ।

तपाईको प्रतिक्रिया