कोभिड १९ – संस्था व्यवस्थापनमा चुनौती

समाधान संवाददाता २०७७ कार्तिक २६ गते १२:१०

समाधान संवाददाता, पोखरा

पोखरामा विभिन्न संघ संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका व्यवस्थापकहरुले कोेभिड –१९ का कारण स्रोत साधन व्यवस्थापन लगायत विविध कुरामा समस्या झेल्नुपरेको बताएका छन् ।

कोपिला नेपालद्वारा कोभिड १९ ले संस्थाका म्यानेजरहरुको काममा ल्याएका चुनौतीहरुका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले सीमित स्रोत साधनबाट कर्मचारीको सेवा सुविधा,सुरक्षादेखि थुप्रै कुराको व्यवस्थापन अहिलेको समयमा निकै चुनौती भएको बताएका हुन् ।

Advertisement

विकास नेपालका अध्यक्ष बुद्धिबहादुर थापाले संस्थाका पूर्वनिर्धारित सबै कार्यक्रमको ढाँचा नै बदल्नुपर्नेदेखि कर्मचारी व्यवस्थापनको समस्या रहेको धारणा राखे । उनले केही कर्मचारी घरबाटै काम गरेको भएपनि कार्यक्षेत्रमै पुगेर काम गर्ने कर्मचारीलाई भने स्वास्थ्य सुरक्षाका लगायत कारणले व्यवस्थापन गर्न निकै कठिन भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नीतु गर्तौलाले अहिलेको अवस्थामा आफू सुरक्षित रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्न निकै चुनौती रहेको धारणा राखे । कार्यक्रममा नजाँदा पनि नहुने जाँदा संक्रमण भइहाले त्यसको जिम्मेवार पनि आफै हुनुपर्ने कतिपय अवस्थाले मानसिक रुपमा बोझिलो बनाएको उनको भनाइ छ ।

Advertisement

इन्सेक गण्डकीका संयोजक शिव खकुरेल जिम्मेवारी वहन गर्दा संक्रमणको जोखिमले मानसिक रुपमै असर पारेको धारणा राखे । प्रदेशका ११ जिल्लाका प्रतिनिधिको स्वास्थ्य सुरक्षादेखि अन्य कुराको व्यवस्थापन अहिले निकै चुनौती रहेको उनको भनाइ थियो ।

कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन कविता पौडेलले सीमित स्रोत साधन र चुनौती लिएर कोभिड –१९ र अन्य विरामीको उपचारमा निरन्तर खट्नु पर्दा आफ्नो कारण परिवारका सदस्य पनि जोखिमको घेराभित्र रहेको अनुभव सुनाइन् ।

राइट फर चिल्ड्रेनका रमेश खड्काले संस्थाका गतिविधिहरुसञ्चालन गर्न नपाउँदा र दातृ निकायबाट बजेटसमेत नआँउदा पठन पाठनदेखि कर्मचारीलाई जागिरमा राख्नेकी नराख्ने भन्ने समस्या रहेको बताए ।

कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले कोभिड –१९ को समयमा सडकबाट विक्षिप्त अवस्थाका महिला उद्धार गर्नुपर्दा संक्रमणको जोखिम र व्यवस्थापनको समस्या रहेको बताइन्।

व्यवस्थापकीय जिम्मेवारीमा रहेकाले अरुको कुरा सुन्नुपर्ने तर आफ्नो कुरा सुनाउने ठाउँ नहुँदा अहिलेको सममा झन समस्या भएको उनको अनुभव थियो ।

कार्यक्रममा आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालका कास्कीका अध्यक्ष तारामाया थापा, दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गर्तौला, अधिवक्ता जानकी शर्मा लगायतले आआफ्नो क्षेत्रमा भोग्नु परेका समस्याबारे अनुभव राखेका थिए ।

तपाईको प्रतिक्रिया