आइसोलेसनबाट भागेका संक्रमित २ दिनसम्म भेटिएनन्, घरमा कुर्दै प्रहरी

समाधान संवाददाता २०७७ कार्तिक २६ गते १८:५३
पोखराको मालेपाटनस्थित क्वारेन्टाइन

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाको आइसोलेसनबाट भागेका १ संक्रमित २ दिन हुँदा पनि भेटिएका छैनन् । कृषि तालिम केन्द्र, मालेपाटनको आइसोलेसनमा बसेका ३५ वर्षे ती संक्रमित बेलुकाको खाना पछि भागेका थिए ।

उनको खोजीका लागि घर वरपर सिभिल ड्रेसमा प्रहरी खटिएर निगरानी राखेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले बताए । ‘उनी कास्कीभित्रै लुकेर बसेको आशंकामा खोजी गरिरहेका छौं,’ उनले भने ।

Advertisement

बुटवल घर भई पोखरा बस्दै आएका ती संक्रमितमा १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पोखरा महानगरपालिकाले सञ्चालन गरेको मालेपाटनको आइसोलेसनमा राखिएको थियो । उनी मासु व्यवसायी हुन् ।

दसैंका बेला ल्याएको च्यांग्राको रकम भुक्तानी नगरेको आरोपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

Advertisement

आइसोलेसमा आएपछि पत्नीले धरौटी रकम अदालतमा बुझाएर रिहाइको पत्र हात परिसकेको भए पनि उनी किन भागे थाहा हुन सकेको छैन ।

उनलाई कोरोना देखिएपछि श्रीमतीको जिम्मा लगाएर धरौटीमा छाडिएकाले उनी नभेटिए श्रीमतीलाई पनि कारवाही गरिने डिएसपी हमालले बताए । मालेपाटनको आइसोलेसनमा ५० जना संक्रमित बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया