जोगाऊँ जेठोबुढो

समाधान संवाददाता २०७७ कार्तिक २७ गते ७:४५

सम्पादकीय

पोखरा भनेको माछापुच्छ्रे हिमालको दर्शनस्थलमात्रै होइन, फेवातालमात्रै पनि होइन । यहाँ आउने पर्यटकलाई लोभ्याउने भनेको जेठोबुढा चामलको थकाली भात पनि हो ।

जेठोबुढो धान यस्तो प्रजाति हो, जुन अन्त खासै फल्दैन र धानविज्ञहरुले पनि पोखरेली जेठोबुढोको नाम यसलाई दिइसकेका छन् ।

Advertisement

६ सयदेखि ९ सय मिटरको हावापानीमा फल्ने धानको चामलबाट पाक्ने भात निकै बास्नादार हुन्छ र मिठो पनि ।

पोखराका रैथानेकहाँ यसैको भात पाक्छ । जेठोबुढो नभई पोखरेलीका चाडपर्व चाडपर्व हुँदैनन्, पाहुनापाछाको सत्कार हुँदैन ।

Advertisement

भारतले बासमती चामलको जति धक्कु लगाए पनि जेठोबुढोका सामुन्न त्यो बासमती बाउन्ने हुन्छ । यद्यपि बासमतीको प्याटेन्ट राइट पनि भारतले नेपालबाटै चोरेको भन्ने छ, यसमा हाम्रो मुलुक कमजोर हुनुको फाइदा उसले उठाएको हुनसक्छ, हामीलाई हेपेको हुनसक्छ ।

खेतभरि झुल्ने जेठोबुढो धानको महत्व झन्झन् पछिल्ला वर्ष बढेको छ । जसरी हाम्रा हिमाल र तालहरुको मूल्य हामीले पछिपछि आएर बुझ्यौं, त्यस्तै भएको छ, हाम्रो यो प्राकृतिक अर्काे सम्पतिका बारेमा पनि ।

महत्व जति बढेको छ, यसको अस्तित्व भने झन्झन् खतरामा परेको छ ।

जेठोबुढो धान झुल्ने पोखराका कुँडहर, बिरुवा, पामे लगायतका फाँटहरु घरैघरै भरिन थालेका छन् । छेउकुनाका फाँट अझै चोखा छन् र त्यहाँ जेठोबुढो धान झुल्न पाएको छ ।

यसैको महत्व बुझेर र पोखराको अर्काे विशेषता सम्झेर पोखरा महानगरपालिकाले यसको संक्षरणमा कदम चालेको छ ।

किसानलाई विकासे र हाइब्रिडको सट्टा रैथाने बाली जेठोबुढो धान रोप्न हौस्याएको छ । कम्तीमा ५ रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने किसानलाई आर्थिक सहयोग गरिसकेको छ ।

उत्पादकत्व वृद्धिको आधारमा थपिँदै जाने गरी ५ लाख ६० हजार रुपैयाँ महानगरपालिकाले यसै वर्ष किसानलाई वितरण गरिसकेको छ ।

पहिलोपटक पोखरा महानगरपालिकाले पोखरेली जेठोबुढो धानको न्यूनतम समर्थन मूल्य मुरीको कम्तीमा ४५ सय रुपैयाँ तोकेको छ । यो निकै स्वागतयोग्य कदम हो । किसानले आफैं बिक्री गर्न नसके खरिदको तारतम्य महानगरपालिकाले मिलाउने कुरा प्रशंसनीय छ ।

एक त जेठोबुढो धान हाम्रो आफ्नै हो । पहिचानको सवालमा पनि हाम्रो शिर यसैले ठाडो राख्छ । हामीलाई जेठो बनाउँछ ।

अर्काे पछिल्लो समय विकासे र हाइब्रिड जातका बिउबिजनको उत्पादन गतिलो छैन । बिउ लाग्दैन । कीरा र रोग अनेकथरी लाग्छ ।

जसरी हामी थुप्रै बालीका लागि बिउ किन्न भारत वा तेस्रो देश निर्भर हुने गरेका छौं, त्यसबाट हामी भोलि भोकमरीको सिकार बन्ने निश्चित छ ।

अरुले बिउ नदिए खेती गर्ने समस्या आउने गरी अघि बढ्नु भयंकर आत्मघाती काम भइरहेको छ । हामीले हाम्रो खुट्टामा आफैंले बञ्चरो हान्दैछौं ।

तसर्थ पनि जेठोबुढो आफ्नै धानको बिउ जोगाउने, यसैको खेती गर्ने उपयुक्त हुन्छ । पोखरामा खेतीयोग्य जमिन घरैघर बनाएर सिध्याउन नदिने गरी पनि महानगरपालिकाले कदम चाल्नुपर्छ, चाहे त्यो निर्मम र कठोरै किन नहोस् । आखिर मानिसलाई पहिलो आवश्यकता बास होइन गास हो ।

बसोबासका लागि निश्चित ठाउँमा अग्ला भवन र अपार्टमेन्ट बनाउने र खेतलाई खेतै रहन दिने हो भने सहरलाई भोलिका दिनमा भोकमरीबाट पनि जोगाउन सकिन्छ । आत्मनिर्भर पनि बन्न सकिन्छ ।

यस्तो कदम चाल्न महानगरमा साहसिक नेतृत्वको खाँचो छ । अहिलेलाई कम्तीमा भइरहेका खेतहरु जोगाऊँ, जेठोबुढो धान जोगाऊँ र आफ्नो पहिचान कायम राखौं ।

अहिले पोखराभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्योमध्ये ४० प्रतिशत खेतमा जेठोबुढो धान लगाइन्छ । जेठोबुढो मिठो त हुन्छ तर थोरै फल्छ, धेरै समय अर्थात पूरै ६ महिना लाग्छ धान पाक्न ।

यी यसका चुनौती हुन् । तर यही नै यसको विशेषता पनि हो । यसको खेती घट्न नदिऊँ । यो धानको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरौं ।

तपाईको प्रतिक्रिया