मुस्ताङमा कक्षा ११ को परीक्षा सुरु, परीक्षा हलमा ४ मिटरको दुरी

समाधान संवाददाता २०७७ कार्तिक २७ गते ८:३८

एसके थकाली, जोमसोम

मुस्ताङमा माध्यमिक तहअन्तर्गतको कक्षा ११ को परीक्षा बुधबारदेखि सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको परीक्षा प्रमाणीकरण कार्यविधि २०७७ बमोजिम विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गरेका हुन् ।

Advertisement

घरपझोङ गाउँपालिकाको जनहित माध्यमिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।

विद्यालयले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको ज्वरो मापन, माक्स र सेनेटाइजरको प्रयोग अनिवार्य गराएको छ । विद्यालयमा शिक्षा र व्यवस्थापन विषयमा विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

Advertisement

प्रधानाध्यापक अधिकारीले समुदाय स्तरमा कोरोना देखिएको अवस्थामा त्रासका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका अनुसार परीक्षा सुरु गरेको बताए ।

प्राधानाध्यापक अधिकारीले यसपटक परीक्षा बोर्डको निर्देशन अनुसार स्थानीय तहसँग समन्वय गरी सम्बन्धित विद्यालय आफैले प्रश्नपत्र निर्माणगरी परीक्षा सञ्चालन गरेको जानकारी दिए ।

विद्यालयले विद्यार्थीलाई परीक्षा हलमा ४ मिटरको दुरी कायम गरेको छ । ज्वरो आएका विद्यार्थीलाई वेग्लै परीक्षा दिने व्यवस्था मिलाएको छ ।

मुस्ताङको २ स्थानीयतहको ४ विद्यालयले कक्षा ११ को परीक्षा सुरुका छन् । अरु पालिकाले परिक्षा सञ्चालनको तयारी गरेका छन् । वैशाखमा हुनुपर्ने कक्षा ११ को परीक्षा कोरोना कहरको कारण ८ महिनापछि धकेलिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गते माध्यमिक तहको कक्षा १२ को परीक्षा संचालन गर्ने तैयारी गरेको छ ।

मुस्ताङमा कोरोना भाइरसका कारण लामो सयमदेखि रोकिएको कक्षा ११ को परीक्षा सुरुआत भएपछि विद्यार्थीहरु उत्साहका साथ सामेल भएका छन् ।

उनीहरुले कोरोना जोखिममा पनि विद्यालय र स्थानीय तहले उचित स्वास्थ्य सामग्री व्यवस्थापन गरी सुरक्षित रुपमा परीक्षा दिने व्यवस्था मिलाएको प्रतिक्रिया दिएका छन् ।

कक्षा ११ को परीक्षा सुरु गर्नुअघि यहाँका सम्बन्धित विद्यालयले स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनसँग आवश्यक समन्वयगरी कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहँदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइएको जनाएका छन् ।

मुस्ताङमा १ सय २४ जना विद्यार्थीले कक्षा ११ को परीक्षा दिने छन् । घरपझोङको जनहित मावि जोमसोममा ४२, थासाङ गाउँपालिका अन्तर्गत योगेन्द्र मावि टुकुचेमा २९, जनआदर्श अम्मरसिंह मावि कोबाङमा २६ र ज्ञानोदय मावि लेतेमा २७ विद्यार्थी कक्षा ११ को परीक्षा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङले जनाएको छ ।

समन्वय इकाईका अनुसार थासाङमा ३ र घरपझोङमा १ विद्यालयले कक्षा ११ र १२ कक्षा सञ्चालन गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कक्षा ११ र १२ सञ्चालन नभएको इकाईले जनाएको छ ।

तपाईको प्रतिक्रिया