सहकारीको सहकार्यबाट संकटको सामना

समाधान संवाददाता २०७७ कार्तिक २७ गते ९:५७

समाधान संवाददाता, पोखरा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन)का केन्द्रीय अध्यक्ष परितोष पौडेलले सहकारीले एकल विधिबाट भन्दा सहकार्यको माध्यमबाट कोरोना कहर लगायत वर्तमान संकटको सामना गर्न सक्ने बताएका छन् ।

संस्थाको२९ औं वार्षिक साधारण सभाको सन्दर्भमा गण्डकी प्रदेशस्तरीय प्रादेशिक विस्तारित मञ्च कार्यक्रमको बुधबार शुभारम्भ गर्दै अध्यक्ष पौडेलले संस्थाले वर्तमान महामारीको सामना गर्न एकल विधिबाट नभई समन्वय र सहकार्यमा जोड दिएको उल्लेख गरे ।

Advertisement

‘जिल्ला, प्रदेश र केन्द्रीय संघले सहकार्यलाई नै प्रधानता दिएर संस्थागत गतिशिलतालाई कायमै राखेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘वर्तमान असहज अवस्थामा संस्थाले सामान्य अवस्थामा भन्दा प्रधानता दिएर काम गरेको छ ।’

छाता संगठनको भावी नीति तथा कार्यक्रमहरुमा अपनत्व महसुस गरी सही मार्गनिर्देशन आग्रह गर्दै अध्यक्ष पौडेललेसभाका एजेन्डाहरु उही भएपनि यो पटकको उपस्थिति र विधि संस्थाका लागि नौलो अभ्यास भएको उल्लेख गरे ।

Advertisement

प्रविधिलाई आत्मसात् गर्दै र आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै ३ दशक भन्दा लामो इतिहास बोकेको संस्थाले नयाँ अभ्यासको थालनी गरेको चर्चा गर्दै उनले नयाँ अभ्यासले संस्थाका सेवाहरुलाई समयानूकुल प्रविधिमैत्री बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गरे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोराना भाइरसको संक्रमणको कारण अभौतिक(भर्चुअल)तथा भौतिक दुरी कायमगरी सभाका कार्यक्रम भएको जानकारी दिए ।

उनले सञ्चालक समितिले पारित ‘महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७’अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी कार्यक्रम भएको बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गरे वापत पोखरा रोयल वचत तथा ऋण सहकारी संस्था (साकोस) पोखरा, भीमकुल साकोस गोरखा र सीवाइसी साकोस बागलुङलाई पुरस्कृत गरिएको राष्ट्रिय सहकारी महासंघ राष्ट्रिय प्रतिनिधि सदस्य तथा पोखरा महानगरपालिका सहकारी समितिका संयोजक तेजनारायण अधिकारीले जानकारी दिए ।

‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ भन्ने नाराका साथ संस्थाको सभा भएको हो । साधारण सभा अन्तर्गत पोखरामा संस्थाको चौथो कार्यक्रम भएको हो । सबै प्रदेशमा कार्यक्रम गरी मंसिर ५ गते काठमाडौंमा समापन गर्ने योजना छ ।

कार्यक्रममा संस्थामा महासचिव दामोदर अधिकारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक पनेरुले आर्थिक प्रतिवेदन, लेखा समितिका सदस्य सन्तोष बस्नेतले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालकहरु शान्ति अधिकारी र चण्डी शर्मा, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, वरिष्ठ उपाध्यक्ष बलराम गौतम, सञ्चालक संगीता गौतम, पोखरा रोयल वचततथा ऋण सहकारी संस्थाका प्रबन्धक भीम गुरुङ, संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नीरज थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया