मुस्ताङ कारागारभित्र कोरोना, ६३ वर्षे थुनुवालाई पोजेटिभ

समाधान संवाददाता २०७७ कार्तिक २७ गते १३:५२

एसके थकाली, जोमसोम

मुस्ताङ सदरमुकाम जोमसोमस्थित कारागारमा कोरोना भित्रिएको छ । कारागारमा रहेका ६३ वर्षे पुरुषलाई बुधबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

ती थुनुवामा कोरोना सम्बन्धि लक्षण देखिएपछि स्वाब संकलन गरेर प्रयोगशाला पठाइएको थियो ।

Advertisement

स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीका अनुसार मुस्ताङमा संक्रमितको क्लोज कन्ट्रयाक ट्रेसिङमा परेका तेस्रो व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोनाका लक्षण देखिएका ८ जनाको नमूना स्वाब गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएकोमा ३ जनामा पोजेटिभ देखिएको प्रमुख भण्डारीले जानकारी दिए ।

Advertisement

मुस्ताङको थासाङ गाउँपालिका—३ लेतेकी ६० वर्षकी महिला, घरपझोङ गाउँपालिका ३ एअरपोर्टका ४७ वर्षे पुरुष र मुस्ताङ कारागारका ६३ वर्षे थुनुवामा कोरोना पोजेटिभ देखिएको हो ।

मुस्ताङ कारागारमा कुल २५ कैदी राख्न सक्ने क्षमता भएता पनि हाल १० जना मात्र छन् । कारागार जस्तो संवेदनशील स्थानमा समेत कोरोना संक्रमित देखिपछि कारागार शाखाले त्यसको पूर्व समिक्षा गरेको छ ।

कारागारकी निमित्त प्रमुख सरिता परियारले कारागार शाखाले विद्यमान कोरोना जोखिमको अवस्थामा आवश्यक सुरक्षा मापदण्ड अपनाउँदा÷अपनाउँदै पनि कारागार भित्रका एक थुनुवामा कोरोनो पोजेटिभ देखिनु आश्चार्य लाग्दो भएको बताइन् ।

कारागारका सुरक्षाकर्मी तथा कर्मचारी यथास्थानमा रहेको र खाद्यान्न तथा तरकारी किनमेल र प्रयोगले कोरोना भित्रिएको हुनसक्ने निमित्त प्रमुख परियारको भनाइ छ ।

उनले कैदीलाई यो समय मौसम परिवर्तनसँगै रुघाखोकी तथा ज्वरोको समस्या आउने गरेको जनाइन् ।

योसँँगै मुस्ताङमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । तीमध्ये १० जना सक्रिय र २ जना निको भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

लामो समयदेखि कोरोना मुक्त रहेको मुस्ताङमा बडा दशैंपछि कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । कन्ट्रयाक टेसिङ गर्दा संक्रमित व्यक्तिको संख्या वृद्धि भइरहेको छ ।

तपाईको प्रतिक्रिया