७७ करोड लागतमा पोखरामा बन्दै देशकै दोस्रो ठूलो पेट्रोलियम डिपो

समाधान संवाददाता २०७७ कार्तिक २८ गते ८:४०

रामशरण नेपाली, लेखनाथ

नेपाल आयल निगम गगनगौंडा डिपोमा नेपालकै दोस्रो ठूलो भण्डारण गृह (पेट्रोलियम डिपो) बन्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटृले बिहीबार भण्डारणगृहको शिलान्यास गरेका छन् ।

कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीका कारण देशको अर्थतन्त्र कमजोर बनिरहेको चुनौतीका बीचमा प्रधानमन्त्रीको नेतृत्वमा जसरी विकासमा काम, नीति कार्यक्रम एवं योजना अघि बढिरहेका छन् यसले देश विकासतर्फ उन्मुख छ भन्ने देखाउने बताए ।

Advertisement

मन्त्री भटृले पेट्रोलियम पदार्थको भण्डार राष्ट्रिय सुरक्षा र विकाससँग पनि जोडिएको बताउँदै यसको निर्माण पश्चात् आपूर्ति व्यवस्था, मंहगी र कालोबजारीमा पनि सुधार आउने दाबी गरे ।

पोखरा महानगरपालिका को वडा नम्बर २९ र ३० मापर्ने गगनगौंडामा रहेको डिपोको भण्डारण क्षमता विस्तार नेपाल सरकारको घोषित नीति बमोजिमको प्रथम परियोजना हो । निगमको आफ्नै स्वामित्वमा रहेको ७७ रोपनी जग्गामा उक्त डिपो बनाउन लागिएको हो ।

Advertisement

जर्मन प्रविधिमा निर्माण गरिने यो डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका लागि विशेष यन्त्र समेत जडान हुनेछन् ।

प्रदेशलाई १ महिना पुग्ने

बिहीबार शिलान्यास गरिएको भण्डारण परियोजना सञ्चालनमा आएपछि गण्डकी प्रदेशमा डिजेलको भण्डारण ३० दिनलाई पुग्ने हुनेछ ।

हाल दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण १२ दिनको माग धान्नलाई पुग्नेछ । एसियाली विकास बैंकको सहयोगमा २०५८ सालमा निर्माण भएयता स्तरोन्नति हुन नसकेको यस डिपो अब भने अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बन्नेछ ।

अहिले गण्डकी प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रेलियम पदार्थको खपत हुनुका साथै एक दिनमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री हुने गरेको छ ।

डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । आपूर्तिमा कुनै अवरोध नभएको खण्डमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्ने क्षमता रहेको छ ।

यस्तो बन्ने छ डिपो

परियोजना अन्र्तगत निगमको हातामा ५० लाख लिटर क्षमताका दुईवटा डिजेल भण्डारण ट्यांकी बन्नेछन् । आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रणाली हुनेछ भने आगो नियन्त्रणका लागि दुई घन्टासम्म लड्ने क्षमताको पूर्वाधार समेत हुनेछ ।

भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगलागी लगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि जडान हुनेछ । डिपोबाट २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डिजेल लोड अनलोड गर्न सक्नेछन् ।

ट्यांकर अनलोडका लागि प्रतिघन्टा १ सय २० किलोलिटर क्षमताका ५ वटा पम्प जडान हुनेछन् ।

ट्याकी र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुनाका साथै डिजेल लोड तथा अनलोड पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुनेछ ।

यसका अलावा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण ट्यांकी, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण हुनेछ ।

डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ ।

दुई वर्षभित्रै निर्माण सम्पन्न हुने परियोजनाको ठेक्का समानान्तर रेलिगेय र भारत ट्यांक्स जेभीले पाएका छन् । तर, ठेकेदार कम्पनीले उक्त समयावधि अगावै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख मनोज ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया